सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले ठूलो सङ्ख्यामा निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी आवश्यक पर्ने जनाएको छ।
निर्वाचन सुरक्षामा खटिन इच्छुक व्यक्तिहरूले पुस २५ गतेदेखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन् । सार्वजनिक बिदाका दिनहरूमा पनि आवेदन संकलन हुने मानव स्रोत विकास विभागले स्पष्ट पारेको छ ।
आवेदन फाराम काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रहरी परिसर तथा देशभरका सबै जिल्ला प्रहरी कार्यालयबाट प्राप्त र बुझाउन सकिने व्यवस्था गरिएको छ ।
साधारण लेखपढ गर्न जान्ने, १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले निर्वाचन प्रहरीमा आवेदन दिन सक्नेछन् । उम्मेदवार छनोट प्रक्रिया माघ ५ देखि ९ गतेसम्म सञ्चालन हुने र माघ १२ गते अन्तिम नतिजा सार्वजनिक गरिने जनाइएको छ ।
छनोटमा परेकाहरूले माघ १५ देखि २४ गतेसम्म तालिम लिनुपर्नेछ । निर्वाचन प्रहरीको कार्य अवधि ४० दिनको हुने छ । यस अवधिमा उनीहरूले ३४ हजार ७७६ रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन् । साथै रासन र आवतजावत खर्चबापत ८४६ रुपैयाँ अतिरिक्त प्रदान गरिनेछ ।
त्यसैगरी, निर्वाचन अवधिमा चार दिनका लागि प्रतिदिन ३ सय रुपैयाँका दरले खाजा खर्च दिइनेछ भने पोसाकका लागि छुट्टै रकम उपलब्ध गराइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।