सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनले नेपालको राजनीतिमा नयाँ र नाटकीय मोड ल्याएको छ। प्रमुख सत्ताधारी दल नेपाली कांग्रेस र मुख्य प्रतिपक्षी दल नेकपा एमालेबीच चुनावी सहकार्य हुने निश्चित भएको छ। बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० सँग मिलेर निर्वाचन लड्ने औपचारिक निर्णय गरेको हो।
यस नयाँ समीकरणअनुसार निर्वाचन हुने कूल १८ सिटमा भागबन्डा गरिएको छ। जसमा नेपाली कांग्रेसले ९, नेकपा एमालेले ८ र लोसपाले १ सिट पाउने सहमति भएको कांग्रेस नेता मिनबहादुर विश्वकर्माले जानकारी दिए।
वामपन्थी दलहरू नेपाल कम्युनिष्ट पार्टी नेकपा लगायतसँग विभिन्न राजनीतिक मुद्दामा कुरा नमिलेपछि कांग्रेस र एमाले एउटै कित्तामा उभिएका हुन्। । नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो दलले कुनै पनि शक्तिसँग चुनावी गठबन्धन नगर्ने रणनीति पार्टीले लिएको हिजै बताएका थिए ।
कांग्रेसले आफ्नो भागमा परेका ९ सिटमा उम्मेदवारहरूको टुङ्गो लगाइसकेको छ। जसअनुसार कोशी प्रदेशबाट सुनिल थापा उम्मेदवार बनेका छन्। मधेस प्रदेशमा कांग्रेसले दलित र अल्पसङ्ख्यक कोटा लिएको छ, जहाँ रञ्जित कर्ण (अल्पसङ्ख्यक) र रौतहटका धमेन्द्र पासवान (दलित) लाई अघि सारिएको छ।
यस्तै, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमिल्सिना, र लुम्बिनीबाट चन्द्रबहादुर केसी र वासुदेव जंगलीलाई उम्मेदवार बनाइएको छ। कर्णाली प्रदेशबाट ललितजंग शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीले चुनावी प्रतिस्पर्धा गर्ने तय भएको छ।
आजै उम्मेदवारहरूको मनोनयन दर्ता गर्नुपर्ने भएकाले दलहरूले बिहानैदेखि आ-आफ्ना प्रदेशमा मनोनयनको तयारी तीव्र पारेका छन्। मुलुकका दुई ठूला दलबीचको यो अप्रत्यासित तालमेलले राष्ट्रिय सभाको चुनावी परिणाम मात्र नभई आगामी सत्ता समीकरणमा समेत दूरगामी असर पार्ने विश्लेषण गरिएको छ।