समानुपातिक बन्द सूची दर्तासँगै प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र

मंगलबार, पुस १५, २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने प्रक्रियासँगै निर्वाचनको तयारी निकै तीव्र बनेको छ। निर्वाचन आयोगले तोकेको पुस १३ र १४ गतेको समयसीमाभित्र बन्द सूची पेश गर्न हिजो अन्तिम दिन आयोग परिसरमा राजनीतिक दलहरूको बाक्लो उपस्थिति देखिएको थियो। 

Honor x5c

आयोगले तोकिएको समयभित्र कार्यालय प्रवेश गरेका सबै दलहरूलाई समयको कुनै बन्देज नराखी सेवा प्रवाह गरेको प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन्।

बन्द सूची दर्ता प्रक्रियालाई व्यवस्थित र सहज बनाउन आयोगले दुईवटा छुट्टाछुट्टै टोली परिचालन गरेको थियो। जसमा पहिलो टोलीले उम्मेदवारहरूको योग्यता र मतदाता नामावलीमा नाम भएरनभएको जाँच गरी निस्सा प्रदान गर्ने जिम्मेवारी पाएको थियो भने दोस्रो टोलीले निस्सा प्राप्त दलहरूको बन्द सूची दर्ता गर्ने कार्य गरेको थियो। 

प्रचलित कानुनअनुसार प्रत्येक दलले ५० हजार रुपैयाँ धरौटी बुझाएर यो प्रक्रियामा सहभागी भएका हुन्। अब आयोगले यी सूचीहरूमा समानुपातिक र समावेशी मापदण्ड पूरा भएरनभएको रुजु गर्नेछ र कुनै त्रुटि पाइएमा सम्बन्धित दललाई सच्याउन निर्देशन दिनेछ।

हालसम्म ६३ वटा राजनीतिक दलले समानुपातिक बन्द सूची बुझाइसकेका छन्, जसमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपाल लगायतका प्रमुख दलहरू समावेश छन्। 

नेपाली कांग्रेसले भने सभापति शेरबहादुर देउवाको हस्ताक्षर र अन्य प्राविधिक प्रक्रियाका कारण हिजो अबेरसम्म सूची दर्ता गरिसकेको थिएन। कांग्रेसको सूची दर्ता भएपछि निर्वाचनमा सहभागी हुने दलको कुल संख्या ६४ पुग्नेछ। 

यद्यपि, आयोगसँग ५८ वटा मात्र निर्वाचन चिह्न उपलब्ध भएकाले केही दलहरूले संयुक्त चुनाव चिह्न प्रयोग गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  १०:५८
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह