सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले बाँके खेलकुदको उर्वर भूमि भएको बताएका छन् ।
आठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद तथा मेयर कप खेलकुद प्रतियोगिताको आज नेपालगन्जमा उद्घाटन गर्दै उनले यस्ता प्रतियोगिताले नयाँ प्रतिभाहरुको उजागर हुने बताए । उनले खेलकुदलाई प्रविधिसँग जोड्न सकियो भने त्यसले यस क्षेत्रको पहिचान स्थापित गर्ने धारणा समेत व्यक्त गरे ।
मन्त्री तिमिल्सेनाले सामाजिक विकास मन्त्रालयले खेलकुद र शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गर्दै आएको पनि बताए । प्रतियोगिताबाट उत्कृष्ट हुने खेलाडीहरुले प्रदेशकै प्रतिनिधित्व गर्ने भएकाले निष्पक्ष भएर खेलाडी छनौट गर्न पनि उनले निर्देशन दिए ।
नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले खेलकुद नेपालगन्जको पहिचान भएको बताए । उनले नेपालगन्जका थुप्रै खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गरेर नेपालगन्जको पहिचान दिलाएको उल्लेख गरे । खेलकुदका गतिविधिहरुलाई चलायमान गराउन विद्यालयले पनि खेलकुदलाई प्राथमिकता दिनुपर्ने उनको भनाई छ । बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले खेलकुदले युवाहरुलाई अनुशासित बनाउने बताए ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा प्याब्सन नेपालगन्जको व्यवस्थापनमा प्रतियोगिता संचालन भएको हो । १४ गतेसम्म चल्ने प्रतियोगितामा उपमहानगरका माध्यमिक तहका ५० र आधारभूत तहका ५१ वटा विद्यालयका छात्र-छात्राहरूले प्रतिस्पर्धा गर्ने प्याब्सन नगर सचिव विज्ञान शाहले बताए । नेपालगन्ज रंगशालामा सुरु भएको प्रतियोगिता उद्घाटन अघि वीपी चोकबाट वृहत् प्रभातफेरी निकालिएको थियो ।