गगन थापाले भने - विशेष महाधिवेशन अनिवार्य बन्यो

शुक्रबार, पुस ११, २०८२
Honor 600 pro

काठमाडौँ । अब पार्टीमा विशेष महाधिवेशनको विकल्प नरहेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् ।  कांग्रेसको विशेष महाधिवेशन मागकर्ताहरूले पार्टीलाई बुझाएको स्मरण पत्र आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बुझ्दै नियमित महाधिवेशन नहुने भएपछि विशेष महाधिवेशनमा जानुको अर्को विकल्प नरहेको महामन्त्री थापाले बताए । 

‘विशिष्ट कारण देखाएर विशेष महाधिवेशन अनिवार्य गरिनुपर्छ । हस्ताक्षरअनुसार पुस मसान्तसम्मको अवधि अर्थात् तीन महिनाभित्र विशेष महाधिवेशन बाध्यकारीको थियो’, आफूलाई बोधार्थ दिइएको स्मरण पत्र बुझेपछि थापाले भने, ‘नियमित महाधिवेशन नहुने भएपछि अब विशेष महाधिवेशनमा जानुको अर्को विकल्प छैन ।’

थापाले विशेष महाधिवेशन पुस मसान्तसम्म गर्नु केन्द्रीय कार्यसमिति र कार्यवाहक सभापति पूर्णबहादुर थापाको अनिवार्य जिम्मेवारी भएको बताए ।

‘तोकिएको तालिका अनुसार पन्ध्रौँ महाधिवेशन गरिसकेको भए यो मागको अर्थ हुँदैन थियो । अब विशेष महाधिवेशन अनिवार्य शर्त हो,’ थापाले भने । उनले स्मरणपत्रबारे जारी कार्यसम्पादन समिति बैठकमा कार्यवाहक सभापति खड्कालाई जानकारी गराउने बताए । 

अर्का महामन्त्री विश्वप्रकाश शर्माले विधानमा भएको व्यवस्था पालना गर्नु केन्द्रीय कार्य समिति र कार्यवाहक समितिको जिम्मेवारी भएको बताए। कांग्रेसको विशेष महाधिवेशन  मागकर्ताहरूले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पुगेर महामन्त्रीद्वय थापा र शर्मालाई बोधार्थ दिएर केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई स्मरण पत्र बुझाएका थिए।  

गत असोज २९ गते विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति खड्कालाई २४८८ प्रतिनिधिको हस्ताक्षर बुझाएका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्