महाधिवेशनको कार्यतालिकामा अन्योल, कांग्रेस कार्यसम्पादन बैठक जारी

शुक्रबार, पुस ११, २०८२

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनको विवाद र निर्वाचनको तयारीका बीच केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने यस बैठकमा महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यताका विषयमा देखिएका अन्योल चिर्ने प्रयास गरिनेछ।

Honor x5c

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बुधबारदेखि शुरु भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी छ।

महामन्त्री विश्व प्रकाश शर्माको 'फास्ट ट्र्याक' प्रस्ताव र निर्वाचन सुरक्षाको चिन्ता बैठकको पूर्वसन्ध्यामा महामन्त्री शर्माले पार्टीलाई गति दिन अबको १६ दिनभित्र क्रियाशील सदस्यताको टुङ्गो लगाउनुपर्ने प्रस्ताव अघि सारेका छन्। उनले वडा र क्षेत्रीय अधिवेशन सम्पन्न गरी सिधै केन्द्रीय महाधिवेशनमा जानुपर्ने 'फास्ट ट्र्याक' योजना अघि सारेका हुन्।

यद्यपि, महामन्त्री शर्माले देशको वर्तमान सुरक्षा अवस्थाप्रति गम्भीर प्रश्न उठाएका छन्। 'जेलबाट भागेका कैदी र लुटिएका हतियार फिर्ता नआएसम्म निर्वाचन सम्भव छैन,' उनले भने। सरकारले सुरक्षाको प्रत्याभूति गराउनुपर्ने र फागुन २१ का लागि तय भएको निर्वाचनलाई वैशाखसम्म सार्नु उपयुक्त हुने उनको तर्क छ।

पार्टीभित्रका असहमतिहरू सार्वजनिक भइरहेका बेला प्रवक्ता डा प्रकाशशरण महतले भने असन्तुष्टि व्यक्त गरेका छन्। पार्टीका आन्तरिक विषयलाई सार्वजनिक रूपमा अतिरञ्जित गर्नुभन्दा बैठकमै छलफल गरेर समाधान खोज्नुपर्नेमा उनको जोड छ। संस्थापन पक्ष र इतर पक्षबीच महाधिवेशनको विधि र निर्वाचनको मितिका विषयमा मतभेद बढ्दै जाँदा आजको बैठकलाई विशेष चासोका साथ हेरिएको छ।

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  ०९:५२
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह