कांग्रेस उपसभापतिमा दीपक गिरीको दाबी: नेपालगन्जबाट उम्मेदवारी घोषणा

मंगलबार, पुस ८, २०८२

नेपालगन्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले आगामी महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपालगन्जमा आज नेपाली कांग्रेस बाँकेको नवनिर्मित सुशील कोइराला स्मृति भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्ण प्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसरमा गरिएको भवन उद्घाटन कार्यक्रममा उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । बाँकेसँग लामो समयदेखि आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै उनले नेपालगन्जबाट उपसभापति पदमा लड्ने घोषणा गरेका हुन् । गिरीले कुन समूहबाट लड्ने भन्ने विषय पछि टुंगो लाग्ने समेत बताए ।

वि.सं.२०३६ सालमा नेविसंघ केन्द्रीय सदस्य भएका गिरी पटक-पटक पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । १४औं महाधिवेशनमा गिरी डा. शेखर कोइराला समूहबाट खुलातर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

उनी पछिल्लो पटक २०७९ को निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट सांसद निर्वाचित भएका थिए । गिरी २०७३ मा सिंचाई मन्त्री पनि भएका थिए ।

 

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १७:५२
प्रतिक्रिया दिनुहोस्