महाराजगञ्जको भेटले बालुवाटार हल्लायो: देउवा–ओली भेटको भित्री संकेत के हो?

सोमबार, पुस ७, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच एक साताको अन्तरमै दोस्रोपटक भेटवार्ता भएको छ । गत मंसिर २९ गते देउवालाई भेट्न पत्नी राधिका शाक्यलाई लिएर गएका ओली आज भने पार्टी महासचिव शंकर पोखरेललाई लिएर महाराजगञ्जस्थित उनको वासस्थल पुगेका हुन् । 

गत भदौको जेनजी आन्दोलनपछि लामो समय दूरी बनाएर बसेका नेताहरू पछिल्लो समय भने नजिकिन थालेका छन् । देउवा-ओली भेटपछि नै संसद पुनःस्थापनाका लागि मुद्धा सर्वोच्च अदालतमा पुगेको छ । 

त्यतिबेला ओली प्रधानमन्त्री थिए भने कांग्रेसले सत्ता सहयात्रा गरेको थियो । ओली भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्रीबाट राजीनामा दिएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट पत्नी राधिकासहित सेनाको हेलिकोप्टरमार्फत बाहिरिएका थिए ।

यता देउवा भने २४ गते नै धर्मपत्नी आरजू राणा देउवासहित आफ्नै निवास बूढानीलकण्ठमा जेनजी आन्दोलनकारीबाट कुटिएका थिए  । लामो समयपछि सेनाले उद्धार गरी उनीहरूलाई सैनिक अस्पताल छाउनी लगेर उपचार गरेको थियो । 

त्यसयता तीन महिनासम्म दुवै नेताहरूको भेट नभएको दुवै नेताका सचिवालयले दाबी गरेका छन् । 

लगातार दोस्रो पटक भएको भेटले देखाएको संकेत के हुन सक्छ रु देउवाले पार्टीको महाधिवेशन समयमा गर्ने लक्षण ल्याएका छैनन्। ओलीले महाधिवेशन गरेर चुनावमा जान आन्तरिक तयारीलाई तीव्र पारेको एमाले नेताहरूले नै जनाएका छन् । 

देउवा पनि ओलीको गतिमा अगाडि बढ्न पुस अन्तिमसम्म महाधिवेशन गर्नुपर्नेछ । तर महाधिवेशन समयमै गर्ने छाँट कांग्रेस संस्थापनले लिएको छैन । 

राजनीतिक विश्लेषकहरू कांग्रेसलाई विवादमै धकेलेर एमाले अगाडि बढ्न खोजेको आरोप लगाउन थालिसकेका छन् । अर्कातर्फ ‌ओलीले संसद पुनस्स्थापना भए देउवा नै प्रधानमन्त्री हुने भनेर पुनस्स्थापनाको एजेन्डा अगाडि सारेर विवादित बनाउन खोजेको विश्लेषणसमेत गरिएको छ । 

अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने घोपणाा गरेर दलहरूसँग निरन्तर संवाद गरिरहेको छ । कांग्रेसले यसअघि नै केन्द्रीय समिति बैठकबाटै चुनावमा सहभागी हुने निर्णय गरेको छ । 

एमालेले पनि चुनावमा भाग लिन दल दर्ता गरिसकेको छ । यो परिस्थितिमा देउवा ओलीको कुन चालसँग ताल मिलाउँदैछन् भन्ने बाहिरिएको छैन । यसले कतै कांग्रेसलाई हानि गर्ने त हैन रु भनी कांग्रेस नेताहरूले चिन्तासमेत गर्न थालेका छन् ।  

तस्बिरमा समेत नेताहरू आपसमा खुलेर कुरा गरिरहँदा यो विकासका लागि हो कि विनाशका लागि भन्दै सामाजिक सञ्जालमा चर्चासमेत भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  १८:४५
प्रतिक्रिया दिनुहोस्