सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सवारीसाधन प्रयोगसम्बन्धी कडा र मर्यादित आचारसंहिता प्रस्ताव गरेको छ। प्रस्तावित व्यवस्थाअनुसार निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन अधिकृतको पूर्व अनुमति बिना कुनै पनि उम्मेदवारले सवारीसाधन प्रयोग गर्न पाउने छैनन्।
अनुमति नलिई सवारीसाधन प्रयोग गरी निर्वाचन प्रचार–प्रसार गर्ने वा प्रचार सामग्री प्रदर्शन गर्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ। नियम उल्लंघन गरी सवारी प्रयोग गरिएको पाइएमा सुरक्षाकर्मीले त्यस्ता सवारी तत्काल नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाउने र त्यसबारे जिल्ला आचारसंहिता अनुगमन समितिलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।
आचारसंहिताअनुसार उम्मेदवारले निर्वाचन अधिकृतको अनुमति लिएर सम्बन्धित निर्वाचन क्षेत्रमा बढीमा दुईवटा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक सवारीसाधन मात्र प्रयोग गर्न पाउनेछन्। सवारीसाधन चल्न नसक्ने भौगोलिक क्षेत्रका लागि भने उम्मेदवारलाई बढीमा चारवटा घोडा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
विदेशी नम्बर प्लेटका सवारीसाधनलाई निर्वाचन प्रयोजनका लागि कुनै पनि हालतमा प्रयोग गर्न नपाइने स्पष्ट गरिएको छ। साथै, राजनीतिक दलहरूले तोकिएको प्रक्रिया पूरा गरी आयोगले स्वीकृत गरेको संख्या र प्रकारका सवारीसाधन मात्र प्रयोग गर्नुपर्नेछ। सवारीको वास्तविक स्वरूप परिवर्तन गरी प्रचार–प्रसारमा प्रयोग गर्नसमेत प्रतिबन्ध लगाइएको छ।
अनुमति प्राप्त सवारीसाधनको दुरुपयोग रोक्न पनि कडा व्यवस्था गरिएको छ। एक उम्मेदवारले अनुमति लिएको सवारी अर्को दल वा उम्मेदवारले प्रयोग गर्न नपाउनेछन् भने मतदाता ओसारपसारका लागि यस्ता सवारी प्रयोग गर्न निषेध गरिएको छ।
तर मानवीय संवेदनशीलतालाई ध्यानमा राख्दै गर्भवती महिला, सुत्केरी, सानो बच्चा बोकेका महिला, किरियापुत्री, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई भने निर्वाचन अधिकृतको विशेष अनुमतिमा सवारी प्रयोग गर्न दिइने व्यवस्था गरिएको छ।
हेलिकप्टर प्रयोगको हकमा राजनीतिक दलहरूले आफ्ना तर्फबाट तोकिएका मुख्य प्रचारकहरूको नाम निर्वाचन आयोगमा बुझाउनुपर्नेछ। आयोगबाट अनुमति प्राप्त व्यक्तिले मात्र निर्वाचन प्रयोजनका लागि हेलिकप्टर प्रयोग गर्न पाउनेछन्।