नेपालगञ्जमा इ-रिक्सामाथि कडाइ,१०७ इ-रिक्सा नियन्त्रणमा

सोमबार, मंसिर २९, २०८२
honor mob  winter sales

नेपालगञ्ज । दर्ता र नवीकरण नभएका इ-रिक्सामाथि नेपालगञ्ज उपमहानगरपालिकाले कडाई गरेको छ । सहरको यातायात व्यवस्थालाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन इ-रिक्सामाथि निगरानी बढाइएको नगर प्रमुख प्रशान्त विष्टले बताए । उनले दुर्घटना न्यूनीकरणका लागि जथाभावी चलेका इ-रिक्सालाई नियमन गर्न आवश्यक देखेर फिल्ड अनुगमन सुरु गरेको बताए ।

Honor x7 pad

दर्ता तथा नवीकरण नगरिएका रिक्सा सञ्चालन गर्दा सहरको यातायात व्यवस्थामा समस्या देखिनुका साथै यात्रुको सुरक्षामा पनि जोखिम बढ्ने भएकाले कडाई गरिएको प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले बताए । अनुमति लिएको स्थान भन्दा फरक ठाउँबाट रिक्सा चलाउँदा सवारी जाम, अव्यवस्थित पार्किङ र दुर्घटनाको सम्भावना बढ्ने भएकाले यसमा समेत निगरानी बढाइएको उनको भनाई छ । 

बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले इ-रिक्सालाई मर्यादित ढंगले संचालन गर्न नेपालगञ्ज उपमहानगरपालिकाले थालेको कामलाई प्रशासनको साथ र सहयोग रहेको बताए । आज सुर्खेत रोडस्थित गणेशमान चोकमा नगर प्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शर्मा लगायतको उपस्थितिमा प्रहरी, ट्राफिक प्रहरी र नगर प्रहरीको टोलीले १०७ वटा इ-रिक्सालाई नियन्त्रणमा लिएको थियो । ती मध्ये प्रक्रिया पुर्याएर ९० वटा इ-रिक्सा फिर्ता गरिएको नगर प्रहरी सहायक निरीक्षक पवन कुमार कनौजियाले जानकारी दिए । उनका अनुसार १७ वटा इ-रिक्सा अझै उपमहानगरपालिकाको नियन्त्रणमा छन् ।  

नेपालगञ्ज उपमहानगरपालिकामा २ हजार ९ सय ४६ इ-रिक्सा दर्ता भएका छन् । ती मध्ये करिव १ हजार ४ सयले मात्र नवीकरण गराएका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  २०:४७
प्रतिक्रिया दिनुहोस्