शीतलहरबाट जोगिन नेपालगञ्ज उपमहानगरपालिकाको अग्रिम तयारी, ४२ हजारभन्दा बढी प्रभावित हुने अनुमान

सोमबार, मंसिर २९, २०८२
honor mob  winter sales

नेपालगञ्ज । नेपालगञ्जमा शीतलहरको पूर्व तयारी थालिएको छ । चिसो अत्यधिक बढ्दै जाँदा शीतलहरको जोखिम बढ्दछ । नेपालगञ्ज शीतलहरको जोखिम क्षेत्र हो । पूर्वानुमान अनुसार नेपालगञ्ज उपमहानगरपालिकामा यस वर्ष ८ हजार ५ सय २४ परिवारका ४२ हजार ६ सय २० जना प्रभावित हुने देखिएको छ ।

Honor x7 pad

पूर्व तयारी स्वरूप आज सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर कार्यक्रम) को प्राविधिक सहयोगमा शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गर्न विषयगत क्षेत्र (क्लष्टर) बीच छलफल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा ८ वटा विषयगत क्षेत्र छन्। छलफलका क्रममा खोज, उद्धार, समन्वय तथा सूचना व्यवस्थापन, शिक्षा, खानेपानी तथा सरसफाई स्वच्छता, आवास तथा गैर खाद्य र स्वास्थ्य तथा पोषण क्षेत्रले समूह कार्यमार्फत पृष्ठपोषण प्रदान गरेको आपतकालीन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।

बैठकमा नगर प्रमुख प्रशान्त विष्टले शीतलहरबाट नगरबासीलाई जोगाउन पूर्व तयारी र प्रतिकार्य योजनालाई प्रभावकारी ढंगले कार्यान्वयन गरिने बताए । सबैको हातेमालो र समन्वयले विपद विरुद्ध जुध्न सहज हुने उनको भनाई छ । त्यसक्रममा प्रमुख प्रशासकीय अधिकृत शर्माले मानवीय सेवामा विषयगत क्षेत्रको अवधारणा तथा युनिसेफका राजु अधिकारीले विपद पूर्व तयारी तथा प्रतिकार्य योजना र विषयगत क्षेत्रका बारेमा प्रस्तुतीकरण गरेका थिए । नेपालगञ्ज उपमहानगरपालिकाको विपद पूर्व तयारी तथा प्रतिकार्य योजना तेस्रो पटक अद्यावधिक गरिएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुपर कार्यक्रमले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ । सुपर कार्यक्रमले आवश्यक पृष्ठपोषण र प्राविधिक सहयोगसँगै समन्वय, सहकार्य र सहजीकरणमा टेवा पुगिरहेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १९:१८
प्रतिक्रिया दिनुहोस्