सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ — पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकारका २५ वटा विपद्जन्य घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तीमध्ये अधिकांश घटना आगलागीका रहेका छन्।
प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार शनिबार बिहानदेखि आइतबार बिहानसम्म भएका घटनामध्ये २२ वटा आगलागीका हुन्। यी घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। आगलागीबाट करिब ७२ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
डढेलो, खाना पकाउने क्रममा ग्यास चुहावट, बिजुली सर्ट, तथा असावधानी र जनचेतनाको कमी आगलागीका प्रमुख कारण रहेका छन्। हिउँदमा आगो ताप्ने क्रममा, सलाइ खेलाउँदा र बालबालिका धानको कुन्युमा खेल्दा समेत आगलागी भएको पाइएको छ।
जिल्लागत रूपमा रौतहटमा सबैभन्दा बढी तीन स्थानमा आगलागी भएको छ। पाँचथर, झापा, कास्की र स्याङजामा दुई–दुई स्थानमा घटना भएका छन् भने मोरङ, भोजपुर, उदयपुर, सर्लाही, काठमाडौँ, रुपन्देही, दाङ, अछाम र दार्चुलामा एक–एक स्थानमा आगलागी भएको प्राधिकरणले जनाएको छ।
आगलागीबाहेक अन्य विपद्का घटनामा काठमाडौँको दक्षिणकाली क्षेत्रको जंगलमा लागेको डढेलो सुरक्षाकर्मी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ। यस्तै, पाल्पामा पहिरो गएको छ भने मोरङका दुई स्थानमा जङ्गली हात्तीको आक्रमण भएको छ। तीमध्ये सुन्दरहरैचा नगरपालिका–१२ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
प्राधिकरणले आगलागी तथा अन्य विपद् जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउन र जनचेतना अभिवृद्धि गर्न सबैलाई आग्रह गरेको छ।