आज एनपीएल फाइनल: उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

शनिबार, मंसिर २७, २०८२

काठमाडौँ । आज दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ३ बजे शुरू हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दै छन् । 

Honor x7 pad

यो भिडन्त राष्ट्रिय टिमका कप्तान र उपकप्तानको पनि हो । लुम्बिनीका कप्तान रोहित पौडेल राष्ट्रिय टिमका कप्तान हुन् भने सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरी राष्ट्रिय टिमका उपकप्तान हुन् । 

दुवैले उपाधि नजितेकाले एनपीएलले आज नयाँ च्याम्पियन पाउनेछ । साविक विजेता जनकपुर बोल्ट्स लिगको पुछारमा रहेर बाहिरिएपछि एनपीएलले नयाँ च्याम्पियन पाउन लागेको हो ।

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । 

पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो । दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो ।  गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ।

गत संस्करणमा लिग चरणको पुछारमा रहेर बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक जसरी भए पनि ट्रफी भित्र्याउने दाउमा छ । लिग चरणमा भएको यी दुबैबीचको खेलमा सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो ।

एपीएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथोले १५ लाख प्राप्त गर्नेछ । विराटनगर तेस्रो तथा काठमाडौँ चौथो भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा गत मंसिर १ गतेदेखि भएको प्रतियोगितामा आठ टोली सहभागी भए । 

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  ०८:५३
प्रतिक्रिया दिनुहोस्