सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । अवैध क्रसर उद्योगलाई सञ्चालमा रोक लगाइएको छ। भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा विगत लामो समयदेखि बिना अनुमति सञ्चालन हुँदै आएको अवैध क्रसर उद्योगलाई जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनपछि बन्द गराएको हो।
जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङका अनुसार क्रसर उद्योगले कानुनी प्रक्रिया नपु¥याई प्राकृतिक स्रोत दोहन गर्दै आएको पाइएको छ। उनले भने, “राज्यको सम्पत्ति दोहन गर्न पाइँदैन। अवैध रूपमा चलिरहेको क्रसर उद्योग तत्काल रोक लगाइएको छ।”
समितिको अनुगमनमा क्रसर उद्योगले नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा बिक्री ‘नदीजन्य पदार्थ व्यवस्थापन मापदण्ड–२०७७’ विपरीत गरेको पुष्टि भएको थियो। कानुनअनुसार पक्की पुलबाट ५०० मिटर, सडक मार्ग तथा खोला किनाराबाट २०० मिटर र हाइटेन्सन लाइनबाट १०० मिटर टाढा क्रसर सञ्चालन गर्नुपर्ने प्रावधान छ। तर लेगुवाघाटस्थित उक्त क्रसर पुलदेखि करिब ३०० मिटर उत्तर, अरुण नदी किनाराबाट ६० मिटर र नजिकैका बस्ती—लेगुवा बजार तथा राम बजार—बाट ३५० मिटरमै सञ्चालन हुँदै आएको अनुगमन समितिले जनाएको छ।
मध्यपहाडी राजमार्गको लेगुवास्थित अरुण नदी किनारामा विसं २०७२ माघदेखि अवैध रूपमा क्रसर सञ्चालनमा रहेको तथ्य फेला परेको समितिको भनाइ छ।
प्रमुख थुलुङका अनुसार क्रसर उद्योग बन्द गरेपछि विभिन्न व्यक्ति तथा समूहबाट सञ्चालनका लागि दबाब आए पनि जिल्ला प्रशासन अवैध क्रसरलाई कानुनी दायरामा ल्याउने प्रक्रियामा रहेको छ। उनले जिल्लामा सञ्चालनमा रहेका अन्य क्रसर उद्योगहरूको समेत निरन्तर अनुगमन भइरहेको जानकारी दिए।