बर्दियामा दाङका युवक निरज चौधरीको गोली हानि हत्या, रेष्टुरेन्ट संचालक फरार

सोमबार, मंसिर २२, २०८२

बर्दिया । बर्दियाको राजापुरमा दाङ तुलसीपुर–५ का २८ वर्षीय निरज चौधरीको गोली प्रहारबाट हत्या भएको छ। राजापुर नगरपालिका–४ स्थित ‘हमार थारु घर एण्ड रेष्टुरेन्ट’ मा काम गर्दै आएका चौधरीको हत्या भएको बर्दिया प्रहरी श्रोतले जनाएको छ।

Honor x7 pad

प्रहरीका अनुसार घटनापछि रेष्टुरेन्टका संचालक फरार छन्। फरार संचालक पनि दाङकै ३५ वर्षीय महावीर चौधरी रहेको प्रहरीले बताएको छ। प्रारम्भिक अनुसन्धानअनुसार मृतक निरज र फरार संचालक एउटै कोठामा बस्ने ‘रुम पार्टनर’ रहेको खुलेको छ।

निरजको दुवै कान मुनि प्वाल परेको जस्तो घाउ देखिएकोले उनलाई नजिकबाटै गोली प्रहार गरिएको आशंका गरिए पनि पोष्टमार्टम रिपोर्ट आइसकेको छैन। उनका बाबु–आमा भारतमा रोजगारीमा रहेकाले उनीहरू नेपाल आएपछि मात्र पोष्टमार्टम प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। निरजको शव नेपालगन्जस्थित सञ्जीवनी अस्पतालमा राखिएको छ।

सामान्य विवादपछि घटना भएकै रेष्टुरेन्ट संचालकले घाइते निरजलाई गुपचुप रूपमा दुई जनामार्फत उपचारका लागि नेपालगन्ज पठाएको र त्यसपछि आफैं फरार भएको प्रहरीको भनाइ छ। अस्पताल पु-याएलगत्तै चिकित्सकले निरजलाई मृत घोषणा गरेका थिए। त्यसपछि बाँके प्रहरीले बर्दिया प्रहरीले घटनाबारे जानकारी गराएको हो।

प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाइरहेको छ भने मुख्य अभियुक्त फरार संचालकको खोजतलास जारी छ। प्रारम्भिक अनुसन्धानमा निरजलाई विदेश पठाइदिने भन्दै संचालकले पैसा लिएको र रकम फिर्ता माग्दा दुवैबीच विवाद भई गोली प्रहार गरिएको हुन सक्ने प्रहरीले जनाएको छ।

संचालकले सु.प.प्र. ०१०० प ४९१३ नम्बरको मोटरसाइकल लिएर फरार रहेको र उनको व्यापक खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १४:४६
प्रतिक्रिया दिनुहोस्