नरैनापुर शिक्षा विवाद- समाधानका लागि संवाद र सहकार्य गर्न गाउँपालिका तयार छ: अध्यक्ष शाह

बिहीबार, मंसिर १८, २०८२
honor mob  winter sales

नरैनापुर । नरैनापुर गाउँपालिका अध्यक्ष स्तियाक अहमद शाहले पछिल्लो समय शिक्षा क्षेत्रका विषयलाई लिएर देखिएका गतिविधिप्रति ध्यानाकर्षण भएको बताएका छन्। अध्यक्ष शाहले आज जारी गरेको प्रेस विज्ञप्तिमा विद्यालय, स्वास्थ्य सेवा, यातायात तथा अन्य सार्वजनिक सेवा अवरुद्ध गर्ने खालका बन्द–हड्ताल नगर्न आग्रह गरेका छन्।

विज्ञप्तिमा समस्या, माग वा असन्तुष्टि भए कानुन विपरीत गतिविधि नगरी सम्बन्धित निकायसँग संवाद र छलफलमार्फत समाधान खोज्नुपर्ने उल्लेख छ। बिना जानकारी बन्द–हड्ताल गरी सर्वसाधारणलाई दुःख दिने काम अस्वीकार्य भएको अध्यक्षको भनाइ छ।

अध्यक्षले विद्यालयमा अध्ययनरत बालबालिकालाई आन्दोलनमा प्रयोग गरी सडक जाम गराउने कार्य गलत र निन्दनीय भएको बताएका छन्। बालबालिका देशको भविष्य भएकाले उनीहरूलाई राजनीतिक दबाब वा समूहगत स्वार्थका लागि प्रयोग गर्नु हुँदैन भनिएको छ।

यस्ता गतिविधिले आम नागरिक, महिला, बालबालिका, वृद्धवृद्धा, श्रमिक तथा दैनिक ज्यालादारी मजदुरको जीवन र रोजगारीमा प्रत्यक्ष असर परेको उल्लेख गरिएको छ। शान्ति, शिक्षा र सेवा प्रवाहमा अवरोध नपुर्‍याउन सबैलाई आग्रह गरिएको छ। विज्ञप्तिमा शिक्षा सम्बन्धी विषय अदालतको आदेशअनुसार नै अगाडि बढिरहेको र केही व्यक्तिले भ्रम तथा गलत सूचना फैलाउने प्रयास गरिरहेकोप्रति समेत ध्यानाकर्षण गराइएको छ।

गाउँपालिका अध्यक्षले नरैनापुरका सबै नागरिकलाई शान्ति, शिक्षा, विकास र सद्भाव कायम गर्न सहयोग गर्न अपिल गरेका छन्। समस्या समाधानका लागि संवाद र सहकार्यका लागि गाउँपालिका सधैं तयार रहेको उनले बताएका छन।

विज्ञप्ति-

-

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  २१:२४
प्रतिक्रिया दिनुहोस्