सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । एक महिनाको अवधिमा मदिरा सेवनमा (मापसे) देशभर २५० दुर्घटना भएका छन् । गत कात्तिक महिनाभरमा भएका दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन् भने ३७५ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरीले दिएको तथ्यांकअनुसार लुम्बिनी प्रदेश सबैभन्दा धेरै दुर्घटना भएका बनेको छ, जहाँ १०३ दुर्घटना भएका छन् । जसमा ७ जनाले ज्यान गुमाएका छन्। लुम्बिनीमै १६८ जना घाइते भएका छन्, जो अन्य सबै प्रदेशभन्दा धेरै हो।
उपत्यकामा ५७ दुर्घटना भएकोमा १ जनाको मृत्यु भएको छ भने ७७ जना घाइते भएका छन्। कोशी प्रदेशमा ४१ दुर्घटनासँगै १ जनाको मृत्यु र ४१ जना घाइते भएका छन्। मधेशमा २० दुर्घटना हुँदा १ जनाको मृत्यु र २८ घाइते भएका छन्। बागमती प्रदेशमा १२ दुर्घटना दर्ता भएका छन्, जसमा १ जनाको मृत्यु र २२ घाइते भएका छन्।
त्यसैगरी गण्डकी प्रदेशमा ८ दुर्घटना भए तापनि मृत्यु शून्य रहेको र ६ जना घाइते भएका छन्। कर्णालीमा ६ दुर्घटना दर्ता भए पनि कुनै जनहानि नभएको र १० जना घाइते रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सुदूरपश्चिममा ७ दुर्घटना हुँदा मृत्यु शून्य रहेर ११ जना मात्र घाइते भएका छन्।
मदिरा सेवनपछि सवारी चलाउने प्रवृत्तिले दुर्घटनाको जोखिम अत्यधिक बढाइरहेको प्रहरीको भनाइ छ। सवारी चाप र मदिराको प्रयोग एकसाथ बढ्ने हुँदा जोखिम थप बढ्ने प्रहरीले जनाएको छ। मदिरा सेवनपछि सवारी नचलाउन सबै चालकलाई प्रहरीको कडा आग्रहसहित देशभर चेकजाँच थप कडा बनाइने बताइएको छ।