सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । पाल्पाको रानीमहल घुम्न निस्किएका विद्यार्थीहरूसँगको यात्रा आज बिहान दुर्घटनामा परिणत भएको छ। दाङको राजपुरबाट विद्यार्थीलिएर छुटेको ना५ख १०८९ नम्बरको बस तानसेन नगरपालिका–१३ को बैकण्ठे भिर नजिक अनियन्त्रित बनेर सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घटना बिहान करिब ६ बजे भएको र बसमा सवार ११ जना घाइते भएका छन्। विद्यार्थीहरूसहितको टोली शैक्षिक भ्रमणका लागि रानीमहलतर्फ जाँदै थियो।
प्रहरीका डीएसपी होम प्रकाश चौधरीले अचानक नियन्त्रण गुमेपछि बस भित्तामा ठोक्किएको प्रारम्भिक अनुसन्धानले देखाएको बताए।
घाइतेमध्ये राजपुर–४ का ४० वर्षीय शत्रुघन गुप्ता, घोराही–११ का २२ वर्षीय दामोदर रेउले, चालक सन्तोष ढकाल, १२ वर्षीया सन्ध्या भण्डारी, १८ वर्षीया दिलकुमारी रावत लगायत अन्य छन्। साथै १० वर्षीय सन्तोषी चौधरी, १९ वर्षीय अजय नेपाली, २३ वर्षीया सिर्जना यादव, १३ वर्षीय आयूष भण्डारी, १५ वर्षीय अभिषेक यादव र बसन्त योगी पनि घाइते भएका प्रहरीको विवरणमा उल्लेख छ।
उनीहरू सबैलाई उपचारका लागि तानसेनस्थित मिसन अस्पताल लगिएको जनाइएको छ।