सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–११ मा निर्माण सम्पन्न भएको आधुनिक शवदाह गृह कोहलपुर नगरपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गर्दै उद्घाटन गरिएको छ । कोहलपुर शवदाह गृह अर्थ निर्माण उपभोक्ता समितिले निर्माण कार्य सम्पन्न गरी सोमबार नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले पश्चिम नेपालकै पहिलो आधुनिक शवदाह गृह निर्माणमा विभिन्न क्षेत्रबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे । उनले शवदाह गृहमा आवश्यकता अनुसार थप एक मेशिन जडान गर्ने प्रतिबद्धता समेत जनाए । उनका अनुसार, यसअघि शव दाहका लागि राप्ती नदी जाने बाध्यता अब समाप्त हुनेछ र यसले समय तथा लागत दुवै बचत हुनेछ ।
त्यसैगरी नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेलले कोहलपुर नगरपालिकाले स्थानीय जनताको आवश्यकता अनुरूप शवदाह गृह निर्माण गरी महत्वपूर्ण सेवा उपलब्ध गराएको बताए । कार्यक्रममा कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले जनताको दीर्घकालीन माग अनुसार शवदाह गृह निर्माण गरिएको बताइन् । उनले यसबाट स्थानीय बासिन्दाको समय र पैसा दुवै बचत हुने उल्लेख गरिन् ।
नेकपा एमाले कोहलपुर नगर कमिटीका उपमहासचिव दिपेन्द्र श्रेष्ठले जनताको माग अनुसार निर्माण सम्पन्न भए पनि शवदाह गृहको दीर्घकालीन र प्रभावकारी व्यवस्थापनका लागि स्थानीय सरकारले विशेष नीति अपनाउनुपर्ने आवश्यकता औंल्याए । नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटीका अध्यक्ष अविरल खड्काले बाँकी रहेका भौतिक संरचना छिटो निर्माण गरी नमूना शवदाह गृहको रुपमा विकसित गर्नुपर्नेमा जोड दिए ।
कोहलपुर शवदाह गृह निर्माण उपभोक्ता समितिका संयोजक चक्र अधिकारीले विभिन्न चुनौतीका बीच निर्माण कार्य पूरा गरिएको बताए । उनले शवदाह गृहको नियमित सञ्चालन तथा व्यवस्थापन स्थानीय सरकारले जिम्मेवारीपूर्वक अघि बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा चन्दादाता तेजबहादुर केसी, नगर विकासका कानूनी सल्लाहाकार रुद्रमणि न्यौपाने लगायतले पनि बोलेका थिए ।
शवदाह गृह निर्माण सहयोगार्थ एभरेष्ट बैंकले ५० लाख, ग्लोबल आइएमई बैंकले २० लाख, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरले ५ लाख ५१ हजार, कोहलपुरका विभिन्न सामाजिक संघसंस्था, व्यक्ति लगायतले गरी करिव १ करोड १० लाख बढी सहयोग प्राप्त गरेको सचिव कृष्ण आचार्यले बताए । सहयोगी दाता सबैको शिलालेखमा नाम उल्लेख गरिएको छ । उक्त शिलालेखको समेत नगर प्रमुख आचार्यले अनावरण गरे ।
त्यसैगरी केएल दुगड ग्रुपले ७ लाख बढीको लगानीमा प्रतिक्षालय निर्माण गरिदिएको छ । शवदाह गृह निर्माणमा सहयोग गर्ने बैंक, संघ–संस्था तथा व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसी, सशस्त्र प्रहरीका एसपी शोभाकान्त खनाल, एभरेष्ट बैंकका लुम्विनी प्रदेश प्रमुख निराजन कार्की, ग्लोबल आइएमई बैंकका कलष्टर हेड इश्वरी प्रसाद जोशी लगायतको उपस्थिति रहेको थियो ।