रोकिएको जग्गा कित्ताकाट फेरि सुचारु, आगामी असार मसान्तसम्म अन्तिम समयसीमा

शुक्रबार, कात्तिक २८, २०८२

काठमाडौँ । करिब आठ  महिनाका लागि देशभर रोकिएको जग्गा कित्ताकाट प्रक्रियामा फेरि खुलापन आएको छ। सरकारले भू–उपयोगसम्बन्धी नियमावली संशोधन गर्दै कित्ताकाटलाई असार २०८३ मसान्तसम्मका लागि सुचारु गर्ने निर्णय सार्वजनिक गरेको हो।

Honor x5c

यसअघि नियमावलीले भू–उपयोग वर्गीकरण पूरा नगरेका स्थानीय तहमा २०८२ असार मसान्तपछि कित्ताकाट रोक्ने व्यवस्था गरेको थियो। सो प्रावधानका कारण करिब ५०० स्थानीय तहमा घरजग्गा कारोबार ठप्प जस्तै बनेको थियो।

नयाँ संशोधनसँगै आगामी असार मसान्त २०८३ सम्म यस्ता सबै स्थानीय तहमा पनि कित्ताकाट सञ्चालन गर्न पाइनेछ। भू–उपयोग वर्गीकरण गरिसकेका स्थानीय तहमा भने पहिलेझैँ निरन्तररूपमा प्रक्रिया खुलै रहने सरकारको स्पष्टिकरण छ।

कित्ताकाट गर्न बाँकी रहेका स्थानीय तहलाई उक्त म्यादभित्र वर्गीकरण कार्य सम्पन्न गर्न सरकारको निर्देशन छ। अन्यथा पुनः कित्ताकाट रोकिनेछ।

देशभरका ७५३ स्थानीय तहमध्ये झण्डै दुई तिहाइमा रोकावटका कारण जग्गा कारोबारदेखि राजस्व संकलनसम्ममा असर परेको थियो। पछिल्लो निर्णयले स्थिर बनेको घरजग्गा बजार फेरि सक्रिय हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १०:२१
प्रतिक्रिया दिनुहोस्