परसपुर - गौघाट सडक स्तरोन्नतिले गति लिँदै

बुधबार, कात्तिक २६, २०८२
honor २२ sept

बाँके । बाँके र बर्दियाका बासिन्दा आवतजावत गर्ने परसपुर–गौघाट सडक स्तरोन्नतिले गति लिएको छ । 

X7D

पटक–पटक काममा ढिलाइ भए पनि अहिले भने परसपुर–गौघाट सडक स्तरोन्नति धमाधम भइरहेको सडक डिभिजन नेपालगञ्जका सूचना अधिकारी इञ्जिनियर रामसागर हरिजनले जानकारी दिए । “पटक–पटक काममा ढिलासुस्ती हुँदै आएपछि सडक डिभिजन कार्यालयले निर्माण कम्पनीलाई निरन्तर दबाब दिएपछि कामले गति लिएको छ”, उनले भने, “अहिले निर्माण चालु छ, हालसम्म ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।”

उनका अनुसार नेपालगञ्जको गणेशमान चोकदेखि रिमझिम चोकसम्म सडक कालोपत्रे भइसकेको छ । रिमझिम चोकदेखि गौघाटसम्मको भागमा कालोपत्रे भइरहेको छ । यो सडक मुख्यतः बाँके र बर्दिया जिल्लाका जनताले आवतजावत गर्दछन् ।  

सङ्घीय सरकारको लगानीमा बन्न लागेको नेपालगञ्जको परसपुरदेखि गौघाटसम्म १४ किलोमिटर सडक कालोपत्रे गर्नको लागि करिब रु १४ करोडमा निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकासहित जानकी, खजुरा र बर्दिया बढैयाताल गाउँपालिकाका जनताले दैनिक प्रयोग गर्ने परसपुर–गौघाट सडकखण्ड निर्माण धमाधम खजुरा गाउँपालिकाका अगुवा भीम ओलीले बताए ।

उनका अनुसार, यसअघि खजुराका जनताले स्थानीय जनप्रतिनिधि र सडक डिभिजन कार्यालयमा गएर सडक निर्माण कार्यलाई छिटो सम्पन्न गर्नुपर्ने दबाब दिँदै आएका छन् । स्थानीयको निरन्तरको खबरदारी र दबाबपछि निर्माण कम्पनीले कामलाई तीव्रता दिएको हो । रासस।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  ०९:२८
प्रतिक्रिया दिनुहोस्