तरकारी बोकेको जिपले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु,३ जना पैदलयात्री घाइते

आइतबार, कात्तिक २३, २०८२
Honor 600 pro

कैलाली । तरकारी बोकेको जिपले साइकल यात्री र पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। ठक्करबाट ३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाको घोडाघोडी नगरपालिका-२ टनकपुरमा आज बिहान साढे ५ बजेतिर लु २ च २३५८ नम्बरको  तरकारी बोकेको जिपको ठक्करबाट  साइकल यात्री बर्दगोरिया गाउँपालिका-६ कोटातुल्सिपुरका ५५ वर्षीय शंकर डगौराको मृत्यु भएको छ।

जिपको ठक्करबाट  गम्भीर घाइते डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिए लगत्तै चिकित्सकले मृत घोषणा गरेको कैलाली प्रहरीले जनाएको छ।

जिपले ठक्कर दिँदा पैदलयात्रीहरु घोडाघोडी नगरपालिका-२ साडेपानीका ५४ वर्षीय पदम बहादुर शाही, बर्दगोरिया गाउँपालिका-६ कोटातुल्सिपुरका ५४ वर्षीय हर्कबहादुर डगौरा र बर्दगोरिया-६ कै २५ वर्षीय कृष्ण डगौरा घाइते भएको प्रहरीले जानकारी दिएको छ।

ठक्करबाट घाइते भएका तीनै जनालाई उपचारका लागि घोडाघोडी अस्पतालमा लगिएको छ भने घाइतेहरुमध्य कृष्णको अवस्था गम्भीर रहेको कैलाली प्रहरीले जनाएको छ ।

प्रहरीले ठक्कर दिने जिप र रोल्पाको त्रिवेणी गाउँपालिका-४ का २३ वर्षीय चालक सन्तोष घर्तीमगरलाई पक्राउ गरेको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  ०९:१३
प्रतिक्रिया दिनुहोस्