बाँकेका सीडीओसहितको टोली नरैनापुर सीमाक्षेत्र पुगेर गर्‍यो अवलोकन

बिहीबार, कात्तिक २०, २०८२
honor २२ sept

नरैनापुर(बाँके)। सोमबार जिल्ला प्रशासन बाँकेको नेतृत्व सम्हालेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिलकुमार तामाङले जिल्लाको सबैभन्दा संवेदनशील क्षेत्र मानिने नरैनापुर गाउँपालिकाको स्थलगत अनुगमन गर्दै सीमाक्षेत्रमा सुरक्षा सुदृढीकरणमा सक्रियता देखाएका छन्।

X7D

बुधबार गरिएको अनुगमनका क्रममा सीडीओ तामाङले गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहसँग भेट गरी सामाजिक सद्भाव, कानूनको शासन र जनमैत्री सेवा प्रवाहमा प्रभावकारिता बढाउन आग्रह गरेका छन् ।

सीडीओ तामाङले सुइया र बघौडा सीमाक्षेत्र पुगेर भारत–नेपाल सिमाबाट हुने अवैध कारोबार र तस्करी नियन्त्रणमा खरो रूपमा प्रस्तुत हुन सुरक्षाका निकायलाई निर्देशन दिएका थिए। सीडीओ तामाङले बिना भन्सार नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटका सवारी साधनमा निगरानी बढाउन र कानुन विपरीत कार्य गर्ने जोसुकैलाई पनि पद वा परिचयका आधारमा संरक्षण नगरी कारबाही गर्न आदेश दिएका छन् ।

“राजनीतिक दबाबमा होइन, कानून र सरकारको मर्मअनुसार निष्पक्ष रूपमा काम गर्नुपर्ने बेला यही हो,”उनले भने।

अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष शाहले सीमामा भन्सार नहुँदा स्थानीयले दैनिक सास्ती भोगिरहेको बताउँदै तत्काल छोटी भन्सार स्थापना गर्न माग गरेका छन् । जवाफमा सीडीओ तामाङले भन्सार स्थापनासम्बन्धी विषय संघीय सरकारलाई जानकारी गराउने प्रतिबद्धता जनाउँदै, निर्णय नहुँदासम्म नेपालगञ्ज भन्सार प्रयोग गर्न सुझाव दिए।

अनुगमन टोलीमा बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसी, सशस्त्र प्रहरी बाँके प्रमुख एसपी शोभाकान्त खनाल, राष्ट्रिय अनुसन्धान विभाग बाँकेका प्रमुख हरिश बिष्ट सहितका अधिकारीहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १०:३४
प्रतिक्रिया दिनुहोस्