Dashain Banner
Dashain Banner

धान खरिदका लागि गरियो बाँकेमा मूल्य निर्धारण, आइतबारदेखि सुरु हुँदै

बुधबार, कात्तिक १९, २०८२

नेपालगञ्ज ।  बाँकेका किसानले यसवर्ष उत्पादन गरेको धान खरिदका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मूल्य निर्धारण गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङको अध्यक्षतामा मङ्गलबार बसेको प्राथमिक खरिद समितिको बैठकले मोटा धान प्रति क्विन्टल तीन हजार ४ सय ६३ रुपियाँ ८१ पैसा र मध्यम धान प्रति क्विन्टल तीन हजार ६ सय २८ रुपियाँ ३३ पैसामा खरिद गर्ने गरी मुल्य निर्धारण गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका प्रमुख रामशरण लामिछानेले मूल्य निर्धारणको काम गरिए पनि धान खरिदको लागि आन्तरिक तयारी गरी आइतबारबाट मात्रै किसानबाट धान खरिद सुरु गरिने जानकारी दिए।

उनले भने–‘धान भण्डारणको गोदाम व्यवस्थापन लगायतका अन्य प्राविधिक काम सकेर आइतबारदेखि किसानबाट धान खरिद गर्ने तयारी गरेका छौं ।’

बैठकमा प्रमुख जिल्ला अधिकारी तामाङले किसानले बजारमा सरकारी मुल्य भन्दा कममा धान बिक्री गरिरहेको भन्दै छिटो धान खरिद थाल्न निर्देशन दिए ।

कम्पनीलाई बाँकेमा यस वर्ष मोटा धान १५ हजार क्विन्टल र मध्यम धान ५ हजार क्विन्टल किसानबाट खरिद गर्ने कोटा निर्धारण भएको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  ०८:३७
प्रतिक्रिया दिनुहोस्