नरैनापुर गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनको तयारीमा

आइतबार, कात्तिक १६, २०८२

नरैनापुर। बाँकेस्थित नरैनापुर गाउँपालिकाकोप्रशासनिक केन्द्र नयाँ रूपमा पुनर्निर्माण भएको छ।जेनजी आन्दोलनको क्रममा भएको आगजनीपछि ध्वस्त बनेको बाँकेको नरैनापुर गाउँपालिकाको प्रशासनिक केन्द्र नयाँ रूपमा पुनर्निर्माण भएको हो।

Honor x7 pad

महालक्ष्मी–जुगल बिल्डर्स जेभीले निर्माण सम्पन्न गरेको नयाँ भवन गाउँपालिकाले छिट्टै बुझ्न लागेको प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले जानकारी दिए। “आगजनीपछि अस्थायी रूपमा साबिकको नरैनापुर गाविस कार्यालयबाट सेवा दिइरहेका थियौँ, अब नयाँ भवन सञ्चालनमा आएपछि सेवामा गति आउँछ,” उनले भने।

वि.स. २०७९ असोज ३१ गते सम्झौता भएको भवन निर्माणका लागि कुल लागत रु ६ करोड ८० लाख ३१ हजार रहेको इन्जिनियर प्रविन श्रेष्ठले बताए। संघीय सरकारले ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत अनुदानमा भवन निर्माण गरेको हो।

गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले आगजनीलाई “नरैनापुरको विकास यात्रामा दुःखद घाउ” भन्दै पुनर्निर्माण सम्पन्न हुनु पालिकाको पुनर्जागरण भएको टिप्पणी गरे।

लेखा अधिकृत भरत बस्नेतका अनुसार भवन भौतिक रूपमा तयार भइसकेको र प्रशासनिक तयारी अन्तिम चरणमा पुगेको छ।

स्थानीयवासीहरूले नयाँ भवनलाई “नरैनापुरको पुनर्जन्मको प्रतीक” भन्दै खुसी व्यक्त गरेका छन्। एक स्थानीय बासिन्दाले भने, “जलेको पालिका अब उज्यालो भएको छ, यो भवन हाम्रो आशाको नयाँ मुना हो।” आगजनीको खरानीबाट पुनः उठेको यो भवनले अब सुशासन, पारदर्शिता र जनसेवाको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  ११:०५
प्रतिक्रिया दिनुहोस्