सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
दाङ। पश्चिम दाङको बबई गाउँपालिका–५ मा अवस्थित प्राकृतिक पुरन्धरा झरना जिल्लाकै एक महत्त्वपूर्ण पर्यटकीय केन्द्र बनेको छ। अहिले सो झरनाको अवलोकन गर्न टाढा–टाढाबाट पर्यटकहरू पुग्ने गर्दछन्। विशेषगरी यस वर्ष दसैँ–तिहार मनाउन घर फर्केका धेरैले झरनाको अवलोकन गरेको स्थानीयहरूले बताएका छन्।
पैँतालीस फिट उचाइबाट पानी खस्दै गरेको मनमोहक दृश्यले त्यहाँ पुग्ने सबैलाई लोभ्याउने गरेको छ। तीनतिरबाट वनजङ्गलले घेरिएको र पश्चिमतर्फ कलकल बग्ने बबई नदीको करिब १० मिटर टाढा पूर्वतर्फ रहेको यो झरनाबाट खसेको पानी पोखरीजस्तै आकारमा जम्मा भएर बिस्तारै बबई नदीमा मिसिन्छ।
झरना अवलोकन गर्न पुग्ने आन्तरिक पर्यटकहरू पानी खस्ने ठाउँमा सेल्फी खिच्न र टिकटक बनाउन व्यस्त हुन्छन् भने गर्मीमा सोही पोखरीमा पौडी खेल्ने गर्दछन्। कर्मचारी कुलबहादुर बुढाका अनुसार यतिबेला दाङका विभिन्न स्थान तथा अन्य छिमेकी जिल्लाबाट दैनिक तीन सयदेखि चार सयसम्म आन्तरिक पर्यटक झरना अवलोकन गर्न आउने गरेका छन्। विशेषगरी दसैँ–तिहारको समयमा विद्यालय बिदा भएकाले विद्यार्थीहरू आफ्ना अभिभावकसँग झरना अवलोकन गर्न आउने गर्छन्।
बाँकेको कोहलपुरबाट पहिलोपटक झरना अवलोकन गर्न पुगेकी सपथ चापागाईंले यहाँ आउँदा निकै आनन्द आएको बताउँदै झरनालाई अझ व्यवस्थित रूपमा संरक्षण गर्न र वरपरको वातावरण सफा स्वच्छ राख्न आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिएकी छिन्।
तुलसीपुर, हापुरे, सुर्खेत खण्डको ट्वाङ खोलाबाट करिब आठ किलोमिटर दक्षिण पश्चिममा पर्ने यो एकान्त झरना क्षेत्रमा वरपर कुनै बस्ती छैन। यहाँ झरनाको करिब १०० मिटरको दूरीमा सिद्धेश्वर महादेवको मन्दिर पनि छ, जहाँ शिवरात्रिमा ठूलो मेला लाग्दछ।
झरनाको विकासका लागि बबई गाउँपालिकाका अध्यक्ष कुलप्रसाद केसीले गुरुयोजना बनाई पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। विगतका वर्षमा बाटो नहुँदा वर्षायाममा झरना क्षेत्रको अवलोकन गर्न सकिँदैनथ्यो। झरनाको संरक्षण र पर्यटकको सुविधा तथा सुरक्षाका लागि त्यहाँ कर्मचारीको व्यवस्था गरिएको छ। सवारीसाधनबाट भने पार्किङ शुल्क लिने गरिएको छ।