सोह्र श्राद्ध समापन गरिँदै

आइतबार, असोज ५, २०८२
honor २२ sept

काठमाडौं। आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृको नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ। सोह्र तिथिसम्म चल्ने भएकाले यसलाई सोह्र श्राद्ध पनि भनिन्छ।

X7D

पितृपक्षको अन्तिम दिन आज औँसी तिथिमा श्राद्ध गरिन्छ। यदि कुनै कारणले पितृपक्षको अन्य तिथिमा श्राद्ध गर्न नसकिएको भए आजको दिनमा गर्नुपर्ने शास्त्रीय मान्यता छ। धर्मशास्त्रविद् प्रा। डा। देवमणि भट्टराईका अनुसार, आज पनि श्राद्ध गर्न नसकिएमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म गर्न सकिन्छ। त्यसपछि पनि सम्भव नभए कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजा) वा मङ्सिरको वृश्चिक सङ्क्रान्तिसम्म जुराएर श्राद्ध गर्न सकिने विकल्प रहेको छ।

यदि यी सबै समयमा पनि श्राद्ध गर्न नसकिएमा सक्ने व्यक्तिले आफैँ वा नसक्नेले ब्राह्मणमार्फत वैदिक मन्त्रले दैनिक १०८ पटक जप गर्न सकिने शास्त्रीय विकल्प रहेको छ। यसरी १० महिनासम्म जप गर्दा पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ।

वैदिक सनातन हिन्दू परम्पराअनुसार, कुनै पनि ठूला माङ्गलिक कार्य गर्नुअघि पितृलाई श्रद्धापूर्वक सम्झिने गरिन्छ। पितृपक्षको समयमा दिवङ्गत पितृहरू पिण्ड र पानीको आशामा मर्त्यलोकमा आउने धार्मिक विश्वास छ। यसरी सोह्र श्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व पूरा हुनुका साथै पितृऋणबाट पनि मुक्त भइने मान्यता छ।

आज उपत्यकाको गोकर्णेश्वर उत्तरगया, बेत्रावती, देवघाट र त्रिवेणी लगायतका तीर्थस्थलहरूमा पितृप्रति श्रद्धा प्रकट गर्न श्राद्ध गर्नेहरूको घुइँचो लाग्ने गर्दछ। पितृपक्षको समाप्तिसँगै असोज ६ गते घटस्थापना गरी दुर्गापक्ष अर्थात् बडादसैँ सुरु हुनेछ।

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  ०८:४०
प्रतिक्रिया दिनुहोस्