पत्रकार महासंघ बाँकेको तीज मिलन,'तीज पर्व भड्किलो हुँदै गइरहेको भन्दै पत्रकारहरु गम्भीर बन्न आवश्यक':अध्यक्ष गिरी

आइतबार, भदौ ८, २०८२
Honor 600 pro

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले हरितालिका तीजको अवसरमा तीज मिलन कार्यक्रम गरेको छ । “मनाऔं तीज रमेर- जोगाऔं संस्कृति जमेर” भन्ने नाराका साथ पत्रकार महासंघ महिला विभागले तीज मिलन कार्यक्रम गरेको हो । 

विभागका संयोजक करुणा शाहको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले तीज पर्व नेपाली महिलाहरुको मौलिक पर्व भएको बताए । उनले तीज पर्व मनाउने मौलिकपन हराउँदै गइरहेको अवस्थामा पत्रकारहरुले सचेत पार्नु पर्ने आवश्यकता समेत औंल्याए । चौलागाईले मौलिक तीज गीत गाएर कार्यक्रमको उद्घाटन गरेका थिए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पछिल्लो समय तीज पर्व खर्चिलो र भड्किलो हुँदै गइरहेको भन्दै पत्रकारहरु गम्भीर बन्न आवश्यक रहेको बताए । उनले समय र परिस्थिति बदलिए पनि तीजको मौलिकतालाई कायमै राख्नुपर्नेमा पत्रकारहरुले भूमिका खेल्नुपर्नेमा जोड दिए । 

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष नीरज कुमार गौतमले सधैंभरी काममा खटिने पत्रकार महिलाहरुले तीजलाई उत्सवका रुपमा मनाउने वातावरण निर्माण गरिदिएकोप्रति महासंघलाई धन्यवाद दिए । महासंघका अर्का पूर्व अध्यक्ष रुद्र सुवेदीले तीजको मौलिकता जोगाउनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारीका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, क्रियाशील महिला पत्रकारका अध्यक्ष सावित्री गिरी, सञ्चारिका अध्यक्ष पवित्रा परियार लगायतले शुभकामना दिएका थिए । 

महिला विभाग सदस्य आशा विकले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्की सदस्य धना विष्ट केसीले गरेकी थिइन् ।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  २०:१८
प्रतिक्रिया दिनुहोस्