आज बडका अटवारी, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

आइतबार, भदौ ८, २०८२

नेपालगन्ज । पश्चिम तराईमा बसोबास गर्ने थारु समुदायले आज  विविध कार्यक्रम आयोजना गरी आफ्नो महत्त्वपूर्ण पर्व ‘बर्का अट्वारी’ मनाउँदैछन्। यो पर्वमा पुरुषहरूले दाजुभाइ(दिदीबहिनीको सुस्वास्थ्य र दीर्घायुका लागि निराहार व्रत बस्ने गर्छन्।

थारु अगुवा सरस्वती चौधरीका अनुसार, यो पर्व हिन्दुहरूको तिजजस्तै महत्त्वपूर्ण छ। यसमा दाजुभाइहरूले दिदीबहिनीको सौभाग्यका लागि पानीसमेत नखाई व्रत बस्ने गर्छन्। व्रत बसेको दिन बेलुका रोटी पकाएर देवी(देवतालाई चढाइसकेपछि ‘अग्रासन’ (दिदीबहिनीका लागि छुट्याइएको विशेष परिकार) निकालेर मात्र खाने चलन छ। भोलिपल्ट बिहान भात(तरकारी पकाएर अग्नि देवतालाई चढाएपछि मात्र व्रत समापन गरिन्छ।

यो पर्व पौराणिक कथा र ऐतिहासिक घटनासँग जोडिएको छ। थारु संस्कृतविद् अशोक चौधरी बताउँछन् कि, यो पर्व दाङका थारु राजा दङ्गीशरण र महाभारतका पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ।

महाभारतका पाँच पाण्डव र द्रोपदी सुर्खेतको काँक्रेविहारमा घुम्न गएका बेला राजा दङ्गीशरणको राज्यमा शत्रुले आक्रमण गरेको खबर आएपछि भीमले भोकैपेटमा पानीसमेत नखाई युद्धमा भाग लिएका थिए। उनले राजा दङ्गीशरणको पक्षमा लडेर शत्रुलाई हराएका थिए। त्यसै विजयोत्सवको सम्झनामा थारु समुदायले अट्वारी मनाउँदै आएका छन्। यस दिन भीमजस्तै बलियो हुनका लागि पुरुषहरू निराहार व्रत बस्ने गर्छन्।

यसैबीच, लुम्बिनी प्रदेश सरकारले बर्का अट्वारी पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ। यो बिदा प्रदेशका दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासी गरी ६ जिल्लामा लागू हुनेछ।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  ०७:२२
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह