नेपालगञ्ज उपमहानगरपालिकाको २०८१-०८२ को प्रगति ८०.७७ प्रतिशत

शुक्रबार, भदौ ६, २०८२

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले ८०.७७ प्रतिशत प्रगति गरेको छ । चालूतर्फ ८७.२६, पूँजीगत बजेटमा ६५.५९ र वित्तीय ब्यवस्थामा ९७.०५ प्रतिशत गरी जम्मा ८०।७७  प्रतिशत प्रगति भएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक बर्ष २०८१/८२ को बार्षिक समिक्षा तथा प्रगति विवरण कार्यक्रममा उक्त प्रगति विवरण सार्वजनिक गरिएको हो । योजना शाखा प्रमुख तेजेन्द्र रोकायका अनुसार उपभोक्ता समितिबाट कार्यान्वयन योजना ८७, कोटेशनबाट कार्यान्वयन भएका योजना ४६ र ठेक्काबाट कार्यान्वयन (क्रमागत) योजना ३९ गरी जम्मा १७२ योजना सम्पन्न भएका छन् । यस्तै कर राजश्वतर्फ १२६.५९ प्रतिशत प्रगति हुँदा गैरकर राजश्वतर्फ ९७.६८ प्रतिशत प्रगति भएको विवरण उल्लेख गरिएको छ । 

आर्थिक बर्ष २०८१/८२ मा सडक कालोपत्रे ३९९९ मिटर, पिसिसी ५२८१ मिटर, ग्राभल १०२९८ मिटर सम्पन्न भएको रोकायले बताए । नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सम्पन्न समिक्षा गोष्ठीमा स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, शिक्षा महाशाखाका शिक्षा अधिकृत लोकेन्द्र बहादुर शाही, योजना शाखा प्रमुख रोकाय, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पवित्रा पुरीले आआफ्नो शाखाको प्रगति विवरण प्रस्तुत गरेका थिए भने अधिकृत दिपेन्द्र श्रेष्ठले राजश्वको अवस्थाबारे प्रस्तुतिकरण गरेका थिए । 

कार्यक्रममा नगर प्रमुख विष्टले जनप्रतिनिधि र कर्मचारीबीचको असल समन्वयबाट मात्रै सफलता हासिल हुने बताए । विष्टले उच्च मनोबलका साथ काम गर्न कर्मचारीलाई आग्रह गरे । उपप्रमुख कमरुद्दिन राईले राजश्व बृद्धि गर्नका लागि सशक्त ढंगले अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, वडा सचिवहरुको उपस्थिति थियो । कार्यक्रम संचालन प्रशासन अधिकृत इन्द्र केसीले गरेका थिए । 

 

नेपालगञ्ज उपमहानगरपालिकाले राजश्व बृद्धिलाई प्रमुख लक्ष्य बनाएर काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । अधिकृत श्रेष्ठका अनुसार गत बर्ष २३ करोड राजश्व संकलन भएको थियो । सबैभन्दा बढी वडा नम्बर १० मा १ करोड १० लाख तथा सबैभन्दा कम वडा नम्बर २३ मा ५ लाख मात्रै राजश्व संकलन भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  २१:४५
प्रतिक्रिया दिनुहोस्