उज्वेकिस्तान जाँदै गरेको एपीएफ क्लबका महिला फुटबल खेलाडीहरुको विदाई

बिहीबार, भदौ ५, २०८२

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एफसीको आयोजनामा यहि भाद्र ९ देखि १५ गते (अगस्ट २५ देखि ३१) सम्म उज्वेकिस्तानको कर्सी शहरमा संचालन हुने एफसी वुमन्स कल्ब च्याम्पियनसीप जिग २०२५-२०२६ मा सहभागी हुन जान लागेका नेपाल एपीएफ क्लबका महिला फुटबल खेलाडीहरु तथा प्रशिक्षक एवं अफिसियलहरुलाई हार्दिक विदाई गरेका छन्  ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा भाद्र ५ गते महानिरीक्षक अर्यालले खेलाडी, प्रशिक्षक एवं अफिसियलहरुलाई विदाई गर्नुकासाथै खेलाडीहरुले मैले किन जित्न नसक्ने भन्ने भावनाकासाथ मन र दिमाग लगाई जित्ने प्रयासकासाथ खेल्नुपर्ने बताउनुभयो । साथै खेल संगठनको मात्र नभई राष्ट्रको गौरवको कुरा भएकोले खेलाडीहरुले अनुशासित भई खेल्नुपर्ने तथा यसलाई महत्वपूर्ण अवसरको रुपमा लिनुपर्ने समेत उनले    बताए।

सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अग्नि ईनकर्पोरेट प्रा.लि.का प्रबन्धक निर्देशक अर्जुन प्रसाद शर्मालाई आईजी एपीएफ कमेण्डेसनबाट सम्मान गरेका हुन्  ।

कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ्गले खेलाडीहरुले जित्छौँ भन्ने भावनाकासाथ प्रचुर दिमागको प्रयोग गरी पाएको अवसरलाई सहि ढंगले सदुपयोग गर्नुपर्ने बताउनुहुँदै सबै खेलाडीहरु कौशलता र क्षमताले अब्बल भएकाले नतिजा राम्रो आउने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल, सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी तथा सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारिरीक सुगठन शिक्षालय काठमाडौंका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक कमल प्रसाद तिउसीनाको समेत उपस्थिती रहेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १५:०३
प्रतिक्रिया दिनुहोस्