सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकका बारे अभिमुखीकरण गरिएको छ । १९औं राष्ट्रिय सूचना दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जले सूचना अधिकारीलाई सूचनाको हकका बारेमा जानकारी गराएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी र कार्यकारी निर्देशक राकेश कुमार मिश्रले सूचनाको हक, यसको प्रयोग, फाइदा, सूचना उपलब्ध गराउने प्रक्रिया, सूचना व्यवस्थापन, माग गर्ने प्रक्रिया, स्वतः प्रकाशन, कारवाही तथा क्षतिपूर्तिको व्यवस्था लगायतका बारेमा सहजीकरण गरेका थिए ।
कार्यक्रमको समापनमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले सूचनाको हकलाई पूर्णरुपमा कार्यान्वयन गर्न वडा कार्यालयमा समेत सूचना व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउने बताए । उनले नेपालगञ्ज उपमहानगरपालिकाले ऐन अनुसार प्रत्येक तीन महिनामा स्वतः प्रकाशन गर्नुपर्ने सूचना नियमित रुपमा गर्दै आएको जानकारी गराउँदै वडा कार्यालयले समेत त्यसको कार्यान्वयन गर्न सूचना अधिकारीलाई निर्देशन समेत दिए । सूचनाको हकले सुशासन तथा पारदर्शिता बढाउने भएकाले कार्यालयका सम्पूर्ण कार्यक्रम तथा बजेट सेवाग्राहीलाई पारदर्शीरुपमा प्रवाह गर्ने उनले बताए ।
सूचनाको हकका लागि राष्ट्रिय महासंघ लुम्विनी प्रदेश संयोजक हेमन्त कर्माचार्यले सूचनाको हक नागरिकका लागि महत्वपूर्ण हतियार भएकाले सुशासन र पारदर्शिताका लागि यसको प्रयोग तथा कार्यान्वयनमा जोड दिए । नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नवीन गिरी र कार्यपालिका सदस्य बसन्त कुमार कनोजियाले सूचनाको हक सुशासन र लोकतन्त्रलाई बलियो बनाउने महत्वपूर्ण हतियार भएकाले यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
अभिमुखीकरणमा नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटा वडा कार्यालयका सूचना अधिकारी, सूचना अभियन्ता तथा अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।