देशभरकै उत्कृष्ट ६ स्थानीय तहलाई सरकारले सम्मान गर्दै

बुधबार, भदौ ४, २०८२

काठमाडौँ । देशभरमा उत्कृष्ट नतिजा ल्याउने ६ स्थानीय तहलाई  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्मान गर्न लागेको छ।

मन्त्रालयले आर्थिक वर्ष २०८०-८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा उत्कृष्ट नतिजा ल्याउने ६ वटा स्थानीय तह घोषण गरेको छ ।  मन्त्रालयले राष्ट्रिय स्तरमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने ३ नगरपालिका र ३ गाउँपालिकालाई सम्मान गर्न लागेको हो । 

मन्त्रालयले जारी गरेको सूचनाअनुसार सम्मानित हुने नगरपालिकाहरूमा चितवनको खैरहनी नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र धादिङको नीलकण्ठ नगरपालिका रहेका छन् । 

यसैगरी, गाउँपालिकातर्फ स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका, धादिङको बेनीघाट रोराङ गाउँपालिका र गुल्मीको रुरु क्षेत्र गाउँपालिका उत्कृष्ट घोषित भएका छन् ।

स्थानीय तहहरूको कार्यप्रक्रिया, उपलब्धि र विकास व्यवस्थापनको लेखाजोखा गर्न, सुधारका क्षेत्रहरू पहिचान गर्न तथा स्वस्थ प्रतिस्पर्धाको भावना जगाउन लिसा मूल्याङ्कन गरिँदै आएको छ । सोही मूल्याङ्कनको अन्तिम नतिजाअनुसार यी पालिकाहरूले राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गरेका हुन् ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  ०८:५४
प्रतिक्रिया दिनुहोस्