सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट भएको छ । नगरका २३ वडाका स्वास्थ्य संस्था मध्ये वडा नम्बर–१३ स्थित उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट भएको हो ।
यस्तै भवानियापुर दोस्रो र परस्पुर तेस्रो भएका छन् । गत बर्ष पनि उदयपुर उत्कृष्ट भएको थियो। आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रतर्फ भने वडा नम्बर ९ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र उत्कृष्ट भएको छ ।
आर्थिक बर्ष २०८१-८२ मा सञ्चालित स्वास्थ्य सम्बन्धि क्रियाकलाप र स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवाहरुको सूचकका आधारमा स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रलाई अंक प्रदान गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाद्वारा आयोजित आर्थिक बर्ष २०८१-८२ को स्वास्थ्य कार्यक्रमहरुको दुई दिने बार्षिक प्रगति समिक्षा गोष्ठीमा सबै स्वास्थ्य संस्थाहरुले आ()-आफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए ।
समिक्षा गोष्ठीमा पछिल्लो तीन बर्षको तुलनात्मक अवस्था चित्रण गरिएको थियो । गोष्ठीमा खोप कभरेज, प्रोटोकल अनुसारको गर्भवती जाँच, पोषण, परिवार नियोजनका साधनहरुको प्रयोग, भौतिक तथा प्राविधिक अवस्था लगायत समग्र स्वास्थ्य कार्यक्रमहरुको समिक्षा गरिएको जनस्वास्थ्य निरीक्षक विनोक कुमार विकले बताए । हरेक बर्ष आयोजना गरिने समिक्षा गोष्ठीमा जिआइजेडको प्राविधिक सहयोग रहेको थियो ।
समिक्षा गोष्ठीको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्घाटन एवम् समापन गरेका थिए । विष्टले स्वास्थ्यका सूचकहरुमा उल्लेख्य सुधार ल्याउने गरी काम गर्न स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिए। प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले विद्यमान स्रोत साधनको अधिकतम् उपयोग गरी स्वास्थ्य कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्य सम्बद्ध कर्मचारीहरुको उपस्थिति थियो।