सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
दंगीशरण। दाङको दंगीशरण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२-०८३ को बजेट अझैसम्म सार्वजनिक गरेको छैन । संविधानमा निश्चित समयमै बजेट सार्वजनिक गर्नुपर्ने प्राबधान छ । तर, दंगीशरणले आफ्नो त्यो दायित्व किन पूरा नगरेको हो? जानकार सर्वसाधारणका बीचमा गाँइगुँइ यो बिषयले चचौ पाउन थालेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार मसान्तभित्र बजेट गाउँसभाबाट पारित गरी नागरिकलाई जानकारी दिनु अनिवार्य हुन्छ। तर दंगीशरणले आ–आफ्ना आधिकारिक माध्यम—जस्तै वेबसाइट वा सूचना पाटीमार्फत भदौ लागि सक्दापनि बजेट सार्वजनिक गरेको छैन । जस्ले गर्दा उपलब्ध योजना कार्यान्वयको चरणमा जानु पर्ने समय हुनै लाग्दासमेत अन्यौंलता छाएको छ ।
दंगीशरणमा किन यस्तो अवस्था आइ लागेको हो?
स्रोत भन्छ – वडा नं. ६ ले हालसम्म पनि आफ्नो योजनाहरु पठाइ सकेको छैन । अर्कौ तर्फ योजना बाँडबाँफका बिषयमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षका बीचमा समझदारी बनिसकेको छैन ।
एक जना स्थानीयले स्थानीय वा जनतासँग छलफल नै नगरी बजेट बनाइएको दोषारोपन गरे। स्थानीय संग सल्लाह नै नगरी आँफु खुसी योजना बाँडफाँड गरेको हुँदा अहिलेको समस्या उत्पन्न भएको हुन सक्ने दंगशीरण –२ का एक जना स्थानीयले दाबी गरे ।
अर्का एक स्थानीय किसानले पनि आँफुहरुलाई योजना छनोट गर्दा कुनै जानकारी नदिइएको गुनासो गरे । ‘ हामीलाई हालसम्म बजेटमा कृषि, सिँचाइ र मलखादमा कति रकम छुट्याइएको छ भन्ने कुरा थाहा हुन सकेको छैन,’ उनले भने ‘ जनताको आवाज सुन्ने भन्दा पनि पालिकाका जनप्रतिनिधिले आँफुखुसी बजेट बनाए जस्तो मलाई लाग्छ ।’स्थानीय युवाहरूले पनि गाउँपालिकाले बजेट मार्फत हालसम्म शिक्षा र रोजगारीका कार्यक्रमबारे स्पष्ट जानकारी नदिएर अन्यौंलमा राख्न खोजिएको गुनासो पोखे ।
‘आफ्नै बजेट लुकाएर के गर्न खोजिएको हो,’ उनले भने ‘ अघिपछि खुबै पारदर्शिता र जबाफदेहीकताको डम्फु बजाउनेहरु आँफै किन गैर जिम्मेवार बनेका होलान ।’
हालसम्म पनि गाउँपालिकाले आफ्नो बजेट सार्वजनिक नगरेको हुँदा विकास योजनाको प्राथमिकता स्पष्ट हुन नसकेको ती युवाले बताए।
‘सडक, खानेपानी, स्वास्थ्य चौकी सुधार, कृषि अनुदान, विपद् व्यवस्थापनजस्ता कार्यक्रमबारे कसरी अघि बढ्ने भन्नेबारे हालसम्म स्थानीयलाई अन्यौंलमा राखिएको छ,’ ती युवाले भने ‘ आफ्नो गाउँमा कुन योजना आउने हो भन्ने थाहा नपाउँदा हामी योजना निगरानी गर्न सक्दैनौं। जस्ले गर्दा पैसा कहाँ खर्च हुन्छ भन्ने जनताले कहिलै बुझ्दैनन्।’
यसबारे जनप्रतिनिधि र प्रशासनिक अधिकृतसँग बुझ्न खोज्दा स्पष्ट प्रतिक्रिया दिन चाहेनन् । एक जना कर्मचारीले प्राविधिक कारणले ढिलाइ भएको भन्दै पंछिन खोजे ।
स्थानीय सरकार ‘जनताको नजिकको सरकार’ हो । तर, दंगशरणले आफ्ना जनताहरु बाटै आफ्नै बजेट लुकाइ रहनु सही मान्न नसकिने स्थानीयहरु बताउँछन् ।
‘बजेट भनेको राजनीतिक रुपमा नेताहरुका योजनाहरु होलान तर त्यो जनताको पैंसापनि हो,’ एक जना नागरिक अभियान्ताले भने ‘ बजेट जनताकै लागि खर्च गरिने चिज हो भने त्यो बजेट कहाँ खर्च हुन्छ भन्ने कुरा लुकाउनु जनतालाई धोका दिनु हो ।’
गाउँपालिकाले अबिलम्ब बजेट सार्वजनिक गर्नु पर्ने उनले बताए । लोकतन्त्र र पारदर्शीताको ठूला भाषण गर्नेहरुले नै हालसम्म बजेट लुकाएर राख्नु कुनैपनि हालतमा सही मान्न नसकिने उनले बताए । फरककोणबाट।