सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । बाँके नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ का क्षेत्रीय सभापति हुन् पोषण केसी। तीन दशकको पत्रकारीताको अनुभवसँगै नेपाल पत्रकार महसंघको केन्द्रीय महासचिव भइसकेका केसी जिल्ला ,क्षेत्र र पालिकामा कांग्रेस पार्टी मजबुत बनाउन रातदिन लागि परेका छन् । पार्टी मेरो नभइ हाम्रो भन्ने र कसरी पार्टीलाई अगाडि पुर्याउन सकिन्छ भन्ने भावका साथ राजनीति मैदानमा छन् क्षेत्रीय सभापति केसी। उनै केसीसँग बाँके क्षेत्र नं. १ सभापति, नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ को बिकास लगायतका बारेमा गरिएको कुराकानी मिनेटखबरमा प्रस्तुत गरिएको छ।
बाँके निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अहिलेसम्म पुर्याएको भूमिकालाई तपाईं कसरी मूल्याकंन गर्नुहुन्छ ?
नेपाली कांग्रेस सधैं लोकतन्त्र, विकास र सामाजिक न्यायको पक्षमा उभिएको पार्टी हो । बाँके क्षेत्र नम्बर १ मा पनि हामीले स्थानीय तहदेखि संघीय निर्वाचनसम्म संगठनलाई सुदृढ बनाउँदै ल्याएका छौं । यहाँका नागरिकको आधारभूत आवश्यकतामध्ये शिक्षा, स्वास्थ्य, सडक र रोजगारीलाई प्राथमिकता दिँदै कांग्रेसले ठोस कदमहरू चालेको छ । हाम्रो उपस्थितिले विकासका कार्य योजनाहरूलाई गति दिएको छ भन्नेमा म दृढ छुँ ।
स्थानीय विकास र पूर्वाधार निर्माणमा कांग्रेसको योगदानलाई कसरी देख्नुहुन्छ ?
स्थानीय स्तरमा हाम्रो प्राथमिकता आधारभूत पूर्वाधार हो । सडक सञ्जाल विस्तार, विद्यालय भवन निर्माण, खानेपानी तथा सिँचाइका योजना अघि बढाउन हामीले सक्रिय पहल गरेका छौं । नेपालगन्ज उपमहानगरपालिका मात्र नभई ग्रामीण क्षेत्रहरूमा समेत कांग्रेसको नेतृत्वमा सडक, बिजुली र पुलपुलेसा बनेका छन् । हामीले बजेट ल्याउने मात्र होइन, कार्यान्वयनमा समेत नागरिकसँगै खाँदिएको छ ।
स्वास्थ्य र शिक्षा क्षेत्रमा कस्तो भूमिका खेल्नुभएको छ?
बाँके क्षेत्र नम्बर १ स्वास्थ्यका दृष्टिले अति महत्त्वपूर्ण जिल्ला हो । महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई सहज उपचार होस् भन्नेमा कांग्रेस निरन्तर सक्रिय छ । शिक्षा क्षेत्रमा त ग्रामीण भेगका विद्यालयमा भवन, छात्रवृत्ति र शिक्षक व्यवस्थापनमा हाम्रो पहल प्रशंसनीय छ। शिक्षा र स्वास्थ्यलाई हामीले सेवा होइन, अधिकारका रूपमा स्थापित गर्न माग गर्दै आएका छौं ।
रोजगारी र युवालाई लक्षित गरेर के–कस्ता कार्यक्रम अघि बढाइएका छन् ?
युवालाई रोजगारीको अवसर सिर्जना गर्नु हाम्रो प्रमुख चुनौती हो । बाँके क्षेत्र नम्बर १ का युवाहरू विदेश पलायन हुने अवस्था कम गर्न सीपमूलक तालिम, लघु उद्यम र सहकारी कार्यक्रमलाई प्राथमिकता दिएका छौं । केही वर्षयता कृषि, पशुपालन र स्वरोजगार योजनामा युवालाई आकर्षित गर्ने काम भएको छ । कांग्रेस नेतृत्वको पालिकाहरूले उद्यमशिलतालाई प्रोत्साहन गर्न विशेष बजेट छुट्याएका छन् ।
संगठन सुदृढीकरण र कार्यकर्ता परिचालनमा तपाईंको नेतृत्वमा के–कस्तो काम भएको छ ?
पार्टी बलियो भए मात्र नीतिगत र विकासका कार्यक्रम सफल हुन्छन् । त्यसैले मैले सभापति भएपछि संगठनलाई तल्लो तहसम्म विस्तार गर्ने कार्यलाई प्राथमिकता दिएँ । वडा, टोल, गाउँ र सहरका इकाइहरूमा कार्य समिति गठन गरिएको छ । युवासँगै महिलालाई पनि अग्रपंक्तिमा ल्याउने अभियान चलाएका छौं । कांग्रेस केवल चुनावमा मात्रै होइन, दैनिक जनजीवनका प्रश्नमा समेत साथ दिने शक्ति हो भन्ने प्रमाणित गर्न हामी निरन्तर लागिरहेका छौं ।
प्रतिपक्ष वा अन्य दलहरूसँग सहकार्य वा प्रतिस्पर्धा कस्तो छ ?
लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक हो । तर विकास र जनसेवाका मुद्दामा सहकार्य अपरिहार्य हुन्छ । हाम्रो पार्टीले सहकार्यलाई नकारेको छैन । तर भ्रष्टाचार, अनियमितता र गैरजिम्मेवार राजनीतिमा भने हामी कडा प्रतिवाद गर्छौं । प्रतिस्पर्धा स्वस्थ हुनु पर्छ, नत्र नागरिक निराश हुन्छन् । त्यसैले हामी सदैव इमानदारीपूर्वक काम गर्दैछौं ।
अहिले नागरिकले कांग्रेससँग के अपेक्षा राखेका छन्?
नागरिकले विकास, सुशासन र अवसरको अपेक्षा गरेका छन् । उनीहरूलाई चाहिएको कुरा सजिलो सडक, गुणस्तरीय शिक्षा, सुलभ उपचार र रोजगारी हो । कांग्रेसले यिनै मुद्दामा भर पर्ने भएकाले जनताले अझै पनि हामीप्रति आशा राखेका छन् । हाम्रो चुनौती भनेको अपेक्षाअनुसार परिणाम दिनु हो, जसका लागि हामी पूरा जिम्मेवारीका साथ लागिरहेका छौं ।
आगामी दिनमा बाँके क्षेत्र नम्बर १ मा कांग्रेसको प्राथमिकता के–के रहने छ ?
पहिलो, स्वास्थ्य र शिक्षा क्षेत्रमा गुणस्तरीय सेवा पुर्याउने । दोस्रो, युवालाई रोजगारी सिर्जना गर्ने र कृषि–उद्योगलाई जोड्ने । तेस्रो, सडक, पुल र खानेपानीजस्ता पूर्वाधारलाई अझ सबल बनाउने। चौथो, सुशासनलाई संस्थागत गर्ने । यी प्राथमिकतामार्फत हामीले बाँके क्षेत्र नम्बर १ लाई विकासको अग्रस्थानमा पुर्याउने संकल्प गरेका छौं ।
अन्त्यमा, क्षेत्र नम्बर १ का नागरिकलाई के सन्देश दिन चाहनुहुन्छ ?
म नागरिकलाई भन्न चाहन्छुँ । राजनीतिलाई विश्वास गुमाउनु पर्दैन । हामीले गरेका गल्ती कमजोरीबाट सिक्दै कांग्रेस अझै जिम्मेवार बनेको छ । तपाईंहरूको सानो सहयोग, विश्वास र सुझावले हाम्रो यात्रा सजिलो हुन्छ । बाँके क्षेत्र नम्बर १ लाई नमूना क्षेत्रमा परिणत गर्न हामी सबैले हातेमालो गर्नैपर्छ ।