बर्दियामा बाघको आक्रमणमा ४५ वर्षीया महिलाको मृत्यु

शनिबार, साउन ३१, २०८२

बर्दिया । बाघको आक्रमणमा बर्दियामा एक महिलाको मृत्यु भएको छ। जिल्लाको गुलरिया नगरपालिका-१२ भैसाहीको पश्चिमतर्फ पर्ने नर्सरी नजिकै आफ्नै खेतमा काम गर्ने क्रममा बाघले आक्रमण गर्दा भैसाहीकी करिब ४५ वर्षीया जगतरानी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

Honor x7 pad

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बाघको आक्रमणमा जगतरानीको शरीर र टाउको अलग भएको अवस्थामा आज  बिहान सवा ११ बजेतिर शव फेला परेको थियो। 

स्थानीयले जगतरानीको शव देखेपछि बन कार्यालय , नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खबर गरेका हुन् । खबर पाए लगत्तै सुरक्षा र बन कार्यालयको टोली घटनास्थल पुगेको थियो।

जगतरानीलाई ममफली गोड्न खेतमा गएका बेला बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ भने उनी शुक्रबार बेलुका नै खेतमा गएको बताइएको छ।  एउटै गाउँमा घर र माइती भएका कारण शुक्रबार अबेरसम्म घर नआउदा पनि खोजीकार्य नभएको पाइएको प्रहरीले बताएको छ।

उनका श्रीमान् र जेठा छोरा वैदेशिक रोजगारको सिलसिलामा विदेशमा छन् भने कान्छा छोरा र बुहारी घरमै  छन् ।जगतरानीको शवलाई पोस्टमार्टमका बर्दिया जिल्ला अस्पतालमा राखिएको बर्दिया प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  १८:२२
प्रतिक्रिया दिनुहोस्