गाउँ रित्तो, तराईमा जनसंख्याको चाप बढ्यो

बिहीबार, साउन २९, २०८२

भीमदत्त। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा बसाइँसराइका कारण गाउँहरू रित्तो हुँदै गएका छन् भने तराईका जिल्लाहरूमा जनसंख्याको चाप अत्यधिक बढेको छ। नेपालको जनगणना २०७८ अनुसार, प्रदेशका कुल जनसंख्याको आधाभन्दा बढी मानिस कैलाली र कञ्चनपुरमा बसोबास गर्छन्।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार, सुदूरपश्चिम प्रदेशमा २६ लाख ९४ हजार ७८३ जनसंख्या छ, जसमध्ये महिलाको संख्या पुरुषको भन्दा बढी छ। प्रदेशका नौ जिल्लामध्ये अछाम, बैतडी, डोटी, बझाङ, र डडेल्धुराको जनसंख्या हरेक वर्ष घट्दो क्रममा छ। दार्चुलाको जनसंख्या वृद्धिदर स्थिर छ भने बाजुरा, कैलाली र कञ्चनपुरको वृद्धिदर सकारात्मक छ। कैलालीको जनसंख्या वृद्धिदर सबैभन्दा उच्च १.४८ प्रतिशत छ।

तथ्यांक समन्वय कार्यालय धनगढीका प्रमुख गोविन्द न्यौपानेका अनुसार, रोजगारी, शिक्षा, र अन्य अवसरको खोजीमा पहाडी क्षेत्रका मानिसहरू तराई र सहरी क्षेत्रमा बसाइँ सर्ने प्रवृत्ति बढेकाले यस्तो असन्तुलन देखिएको हो।

बढ्दो जनसंख्याको चुनौती र समाधानका उपाय

तराईमा बढ्दो जनसंख्याले कृषियोग्य जमिन घट्दै गइरहेको र पहाडमा जमिन बाँझो भइरहेको अवस्थाले भविष्यमा ठूलो समस्या निम्तन सक्ने विज्ञहरूले चेतावनी दिएका छन्। सुदूरपश्चिमको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३० प्रतिशत रहेकाले यसले प्रदेशको अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्न सक्छ।

यस चुनौतीलाई सम्बोधन गर्नका लागि केही उपायहरू सुझाइएका छन्स्

समानुपातिक विकासस् उप-प्राध्यापक शङ्करदत्त भट्टले पहाडी क्षेत्रका स्रोत -साधनको सदुपयोग गर्दै राज्य स्रोतलाई समानुपातिक रूपमा वितरण गर्नुपर्नेमा जोड दिएका छन्।

कृषिमा लगानीस् पहाडका बाँझो जमिनलाई नमूना कृषि पकेट क्षेत्रमा विकास गरी सरकारी-निजी साझेदारीमा तरकारी, फलफूल र पशुपालनमा लगानी गर्नुपर्ने उनको सुझाव छ।

एकीकृत बस्ती र गुणस्तरीय सेवास् प्रदेश नीति तथा योजना आयोगका सदस्य डा। हिरा चन्दले पहाडी क्षेत्रमा बसाइँसराइ रोक्न एकीकृत बस्ती विकास, गुणस्तरीय सामुदायिक विद्यालय र स्वास्थ्य सेवामा सुधार ल्याउनुपर्ने बताए।

रोजगारी सिर्जनास् पर्यटन क्षेत्रको विकास गरी रोजगारी सिर्जना गर्न सकेमा नागरिकको जीवनस्तरमा सुधार आउने र बसाइँसराइ कम हुने उनको भनाइ छ।

भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले बढ्दो जनसंख्याका कारण स्रोत व्यवस्थापनमा चाप बढेको भए पनि हालसम्म व्यवस्थापन गरिरहेको बताएका छन्, तर यो क्रम निरन्तर बढिरहेमा भविष्यमा समस्या हुन सक्ने उनको चिन्ता छ।

 

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १३:१५
प्रतिक्रिया दिनुहोस्