सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
कोहलपुर । आमनागरिकको स्वास्थ्य तथा वातावरणमा समेत पार्ने असरलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ कोहलपुर नगरपालिकाले विद्युतको सहायताबाट चल्ने सुधारिएको चुलो वितरण सुरु गरेको छ ।
चालू आर्थिक वर्षमा पाँच सय चुलो वितरण गर्ने लक्ष्यका साथ आज कोहलपुर नगरपालिका वडा नं. २ बाट कार्यबाहक नगर प्रमुख संगिता सुवेदीले चुलो वितरणको सुभारम्भ गरिन् ।
कार्यबाहक नगर प्रमुख सुवेदीले स्थानीय उर्मिला घर्तिलाई चुलो हस्तान्तरण गरेर वितरण कार्यक्रमको सुभारम्भ गरेकी हुन् । यो चुलोले इन्धनको खर्च घटाउँछ भने कोइला र लकडीको खपत समेत कम गर्छ । त्यसैगरी धुँवा नहुने भएकाले स्वास्थ्यमा समेत असर न्यूनीकरण हुने गर्छ । यसले वातावरणमा हुने ग्रीनहाउस ग्याँसको उत्सर्जनलाई घटाउँछ र जैविक इन्धनको उपयोगलाई कम गर्छ । सुधारिएको चुलोले धुँवा कम उत्पादन गर्ने र यसले मानवीय स्वास्थ्यमा समेत असर नगर्ने भएकाले उपयोगीपूर्ण रहेको कार्यबाहक नगर प्रमुख सुवेदीले बताइन् ।
‘विद्युतीय सहायताबाट चल्ने सुधारिएको यो चुलोले व्यक्तिको स्वास्थ्य मात्र नभएर वातावरण प्रदूषणलाई समेत न्यूनीकरण गर्ने विश्वास छ,ु उनले भनिन्–‘यसले विपन्न परिवारलाई पनि लाभ पुर्याउनेछ ।’ पहिलो चरणमा नगर क्षेत्रका अपांगता, जेष्ठ नागरिक, एकल महिला र आर्थिकरुपमा विपन्न परिवारलाई लक्षित गरेर सुधारिएको चुलो वितरण गरिए पनि यसले परिवारका अन्य सदस्यहरुलाई समेत समेट्ने नगरपालिकाले जनाएको छ । चुलो प्राप्त गर्ने लाभग्राहीलाई यसको सही सदुपयोग गर्न पनि उनले आग्रह गरिन् ।
वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र कोहलपुर नगरपालिकाको साझेदारीमा १५ वटा वडामा हाल ३०-३० वटाका दरले चुलो वितरण गरिनेछ।५ हजार ९८७ रुपैयाँ मूल्य पर्ने उक्त चुलो केन्द्रको ८० प्रतिशत, पालिकाको १५ प्रतिशत र लाभग्राहीको ५ प्रतिशत लगानीमा वितरण गरिनेछ ।