अज्ञात रोगले चङ्खेलीमा ३० बढी पशुको मृत्यु

बिहीबार, साउन १५, २०८२

हुम्ला । एक हप्तादेखि हुम्लामा फैलिएको अज्ञात रोगले चङ्खेली गाउँपालिकामा ३० भन्दा धेरै पशु मरेका छन् । गाउँपालिका-६ स्थित रामालेख खडिन्याखाडा खर्कमा राखिएका पशुवस्तु मरेका हुन् । 

अचानक पशुवस्तुको पेट र छाती सुन्निने, दिसा गर्न नसक्ने, घाँस नखाने, र्‍याल काड्ने रोगले हालसम्म एक भैँसी, एक कुकुर, ६ दुहुना र अन्य नौवटा गाई तथा १४ भन्दा धेरै गोरुलगायत पशुवस्तु मरेका स्थानीय हरिबहादुर शाहीले जानकारी दिए । यही साउन ८ गतेपछि फैलिएको उक्त रोगले हालसम्म उनको मासिधारालगायत क्षेत्रमा कृषकका ३० भन्दा बढी पशुवस्तु मरेपछि ठूलो क्षति पुगेको छ । 

अधिकांश पशुवस्तु जङ्गलतिर खर्क रहेकाले अन्य पशुवस्तबारे यकिन विवरण आउन बाँकी छ । खर्कमा समेत अझै एक भैँसी बिरामी भएपछि पालमा राखिएको छभने अन्य गाईगोरुसमेत थला परेका छन् । अज्ञात रोगको महामारीका कारण पशुवस्तु मर्न थालेपछि खर्क क्षेत्रको जङ्गल गन्हाउने भएको छ ।

सोही खर्कमा मात्रै नभई विभिन्न गाउँका खर्कमा १०० भन्दा बढी पशुवस्तुहरु अझै बिरामी परेका स्थानीयले जनाएका छन् । गाउँपालिकाको पशुशाखामा औषधिका लागि गए पनि त्यहाँ पशु स्वास्थ्यकर्मी नभएकाले थप समस्या भएको शाहीले गुनासो गरे । 

यहाँ हिउँदका लागि पशुवस्तुलाई घाँस सङ्कलन, बर्खेबालीको संरक्षण र गर्मीमा हुने रोग छल्नका लागि पशु खर्कमा लिने प्रचलन छ ।   

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  ०७:३१
प्रतिक्रिया दिनुहोस्