प्रभात स्कुलका ६ वर्षीय विद्यार्थी अभिनाषले ५० किमि साइकल रेस पार गरेर बनाए रेकर्ड

मंगलबार, साउन ६, २०८२

नेपालगन्ज । बाँकेका ६ वर्षीय एक बालकले साइक्लिङ च्यालेन्जमा लगातार ५० किलोमिटर साइकल चलाएर कृतिमान कायम गरेका छन् । 

गत शनिबार नेपालगन्जमा आयोजित '५० किलोमिटर' कोरा २०२५   साक्लिङ च्यालेन्जमा नेपालगन्जको भृकुटीनगरस्थित प्रभात मेमोरियल स्कुलका ६ वर्षीय विद्यार्थी  अभिनाष सिंह  चौधरीले लगातार ५० किलोमिटर दुरी पार गरेका हुन् ।

नेपालगन्जको बौद्ध गुम्बादेखि सुरु भएको साइक्लिङ च्यालेन्ज बजार परिक्रमा गरेर डडुवा गाउँपालिका ४ स्थित कमर्शवा बाबा मन्दिर परिक्रमा गर्दै डुडुवाको बेतहनी, होलिया, हिरमिनिया,नेपालगन्जको बाले गाउँ, चौलिका हुँदै पुनः नेपालगन्ज बजार भएर बौद्ध गुम्बासम्मको ५० किलोमिटर साइकल रेस अभिनाषले पूरा गरेका हुन् ।

प्रभात मेमोरियल स्कुलमा कक्षा ४  मा अध्ययनरत अभिनाषले कोरा २०२५ साइक्लिङ च्यालेन्जमा भाग लिएर ५० किलोमिटर यात्रा पार गरेको संयोजक गगन थापाले जानकारी दिएका छन् । थापाले भने-" सुरुमा यति सानो बालक पनि प्रतियोगितामा भाग लिएको देख्दा अचम्म लागे पनि ५० किलोमिटर साइकल यात्रा पूरा गर्दा सबैलाई दङ्ग पारे।" 

नेपालगन्जमा भएका यसअघिका कुनै साइकल रेसमा यति कम उमेरकाले ५० किलोमिटर रेस पार नगरेको थापाले बताए। तर यसपटक अभिनाषले ५० किमि दुरी पार गरेर नेपालगन्जमा रेकर्ड राख्न सफल भएका हुन् ।

५० किलोमिटर लामो साइकल यात्रा पूरा गर्ने अभिनाषलाई कोरा २०२५ नेपालगन्ज आयोजक कमिटीले सम्मान गरेको हो। अभिनाषका पिता अर्जुन चौधरीका अनुसार उनी  नेपालगन्जदेखि राप्तीसोनारी-२ स्थित अगैया पुगेर साइकल नेपालगन्ज फर्किने गरेको समेत बताए।  

कोरा साइकल रेस '५० किलोमिटर' पार गर्ने अभिनाषलाई प्रभात मेमोरियल स्कुलले समेत विशेष सम्मान गर्ने जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्