बालश्रमिक राख्नेमाथि नेपालगञ्ज उपमहानगरको निगरानी, एकै दिन तीन बालश्रमिक भेटिए

शुक्रबार, साउन २, २०८२

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले बालश्रमिक राख्नेहरुमाथि निगरानी बढाएको छ । बालमैत्री स्थानीय शासन अबलम्बन गरेको नेपालगञ्ज उपमहानगरपालिकाले बजारमा बालश्रमिकहरु बढेको र खुलेआम रोजगारदाताले बालश्रमिक राखेको भन्ने जनगुनासो आएपछि निगरानी बढाएको हो ।

होटल, मिठाई पसल, बार, दोहोरी साँझ, ग्यारेज, सार्वजनिक यातायात, रिक्सा, भरिया, फर्निचर पसल, घरेलु कामदार, छापाखाना लगायतका क्षेत्रमा बालश्रमिकको संख्या बढेको जनगुनासोपछि छड्के अनुगमन थालिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पवित्रा कुमारी पुरीले बताइन् । 

रोजगारदाताहरु खुलेआम बालश्रम निषेधित र नियमन गर्ने ऐन २०५६ को बर्खिलाप गएको देखिएकोले नेपालगञ्ज उपमहानगरपालिकाले जोखिम क्षेत्रको कार्यतालिका नै बनाएर अनुगमन थालेको पुरीले जानकारी दिइन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ को वडा कार्यालय, उपमहानगरपालिकाकाको रोजगार शाखा, सिविन नेपाल, बालकल्याण अधिकारी तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको संयुक्त टोलीले धम्बोझी र घरबारी टोल क्षेत्रमा अनुगमन गरेको छ । अनुगमनका क्रममा दुई वटा मिठाई पसलमा तीन बाल श्रमिक भेटिएका छन् । 

अनुगमन टोलीले सात दिनभित्र बालकहरुको पारिवारिक पुनर्मिलन गरी वडा कार्यालयमा बुझाउन निर्देशन दिएको पुरीले जानकारी दिईन ।

निर्देशन पालना नभएमा रोजगारदाता विरुद्ध श्रम कार्यालयमा श्रम कानुन, बाल श्रम निषेधित र नियमन गर्ने ऐन २०५६ बमोजिम उजुरी दर्ताको प्रक्रियामा जाने तयारी गरेको अनुगमन टोलीका प्रतिनिधि तथा नेपालगञ्ज उपमहानगरपालिकाको बाल श्रम विरुद्धको स्थानीय समन्वय समितिका सदस्य सचिव (बाल कल्याण अधिकारी) समेत रहनुभएकी पुरीले बताइन् । उनले बालश्रम विरुद्ध शून्य सहनशिलताका साथ अघि बढ्ने प्रष्ट पारिन् ।  

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  २०:१८
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह