नेपालगञ्ज उपमहानगरको आगामी आर्थिक बर्ष २०८२-८३ को बजेट पारित

आइतबार, असार २९, २०८२

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०८२-८३ को बजेट पारित भएको छ ।

नगरसभाको १७औं अधिवेशनको दोस्रो बैठकबाट १ अर्ब ६४ करोड बराबरको बजेट सर्वसम्मत पारित भएको हो । सभा अध्यक्ष एवम् नगर प्रमुख प्रशान्त विष्टले बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक बर्ष २०८२-८३ को बार्षिक राजश्व र ब्ययको अनुमान (बजेट) स्विकृतिका लागि पेश गरेका थिए । 

त्यसअघि नगरसभाको १७औं अधिवेशनको दोस्रो बैठकबाटै नीति तथा कार्यक्रम पनि पारित भएको छ । नेपालगञ्ज-१४ भवानियापुरस्थित नेपालगञ्ज सिटी हलमा आज बसेको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२, मर्मत(सम्भार विधेयक २०८१, प्रज्ञा प्रतिष्ठान विधेयक २०८२ स्विकृतिका लागि पेश गरिएकोमा सर्वसम्मत पारित भएको सभा सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी दिए ।

नगरसभाको दोस्रो बैठकले नगर कार्यपालिकाका निर्णयहरु समेत अनुमोदन गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक बर्ष २०८०-८१ को म.ले.प. प्रतिवेदन पनि छलफलका लागि पेश गरिएको थियो । बैठकमा सभा सदस्यहरुले विभिन्न विषयमा आ-आफ्नो धारणा राख्नुभएको थियो । त्यसक्रममा नगरसभा सदस्यहरु प्रमोद रिजाल, राजकुमार साहु, दीपक कुमार बर्मा, गोपाल पुन, कैशल कुमार धोबी, मनोज कुमार श्रेष्ठ, सराफत हुसेन शेख, संगिता रेग्मी, बसन्त कनोजिया, रुमिता श्रेष्ठ, दिग्विजय ढुंगाना, भरत शाही लगायतले बोलेका थिए । पूर्वाधार विकास समिति संयोजक समत रहेका नगरसभा सदस्य कनोजियाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । 

सभाका उपाध्यक्ष एवम् नगर उपप्रमुख कमरुद्दिन राईले गत असार १० गते बसेको नगरसभाको १७औं अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्ष २०८२-८३ को लागि बजेट पेश गरेका थिए । राईले १ अर्ब ६४ करोड ७१ लाख ४६ हजार ६ सय ६६ रुपैयाँ ६७ पैसा बराबरको अनुमानित आयब्यय विवरण पेश गरेका थिए ।

उक्त बैठकमै त्यसअघि सभा अध्यक्ष एवम् नगर प्रमुख विष्टले नीति तथा कार्यक्रम पेश गरेका थिए । 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १६:४०
प्रतिक्रिया दिनुहोस्