नेपालगन्ज उपमहानगरका कर्मचारीलाई योजना व्यवस्थापन प्रणाली सम्बन्धि अभिमुखीकरण तालिम

मंगलबार, असार १७, २०८२

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले प्राविधिक कर्मचारी तथा वडा सचिवका लागि एक दिने योजना व्यवस्थापन प्रणाली सम्बन्धि अभिमुखीकरण तालिम दिएको छ ।

मंगलबार नेपालगन्ज उपमहानगरपालिका कार्यालय योजना शाखाका सबै प्राविधिक कर्मचारी, वडा सचिव, सहायक कर्मचारी (पाँचौं) का लागि एक दिने तालिम आयोजना गरिएको सूचना प्रविधि शाखा प्रमुख घनश्याम बर्माले जानकारी दिए । नेपालगन्ज उपमहानगरपालिकाको कागजको प्रयोगलाई क्रमशः घटाउँदै लैजाने नीति अनुरुप यो अभिमुखीकरण गरिएको बर्माको भनाई छ ।

प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउन योजना व्यवस्थापन प्रणाली सम्बन्धि तालिम प्रदान गरिएको बर्माले बताए । प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले तालिम उद्घाटन गरेका थिए । तालिम उद्घाटन गर्दै शर्माले कर्मचारीको प्राविधिक क्षमता अभिवृद्धि गर्न तालिम सहयोगी हुने बताए । प्रविधिमैत्री सेवा प्रवाह अहिलेको आवश्यकता रहेको भन्दै उनले सेवाग्राहीको सहजताका लागि कर्मचारी प्रतिबद्ध रहनुपर्नेमा जोड दिए । 

तालिममा टिकाराम दाहाल र विवेक गदाइलीले प्रशिक्षण दिएका थिए । कार्यक्रमको समापन योजना शाखा प्रमुख तेजेन्द्र रोकायले गरेका थिए भने भौतिक पूर्वाधार शाखा प्रमुख भुपेन्द्र बोहराले तालिमको पृष्ठपोषणसहित आफ्नो भनाई राखेका थिए । 

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १७:३४
प्रतिक्रिया दिनुहोस्