सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
राप्तीसोनारी । बाँकेको राप्तीसोनारी गाउँपालिकाले आर्थिक बर्ष २०८२-८३ को बजेट प्रस्तुत गरेको छ ।
गाउँसभाको १७औं अधिवेशनमा मंगलबार उपाध्यक्ष मनिषा सिंह थारुले १ अर्ब २० करोड ६ लाख २९ हजारको बजेट प्रस्तुत गरेकी हुन् । जसमा चालूतर्फ ८२ करोड १८ लाख २९ हजार र पुँजीगततर्फ ३७ करोड ८८ लाख विनियोजन गरिएको उपाध्यक्ष थारुले उल्लेख गरिन् ।
गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलको अध्यक्षतामा बसेको गाउँसभामा बजेट प्रस्तुत गर्दै उपाध्यक्ष थारुले शिक्षातर्फ ३९ करोड ९ लाख ८५ हजार, पूर्वाधार विकासमा ३७ करोड ८८ लाख, सुशासन र संस्थागत विकासको लागि १७ करोड ८१ लाख, स्वास्थ्य संस्थाहरुको निर्माण र मर्मत सम्भारका लागि ८ करोड ७३ लाख ५० हजार, कृषि तथा पशुपंक्षीतर्फ २ करोड ९४ लाख, रोजगार कार्यक्रममा १ करोड १४ लाख ४४ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनमा १ करोड २६ लाख ५० हजार बजेट विनियोजन गरिएकी जानकारी गराइन् । राप्तीसोनारीमा प्रत्येक वडालाई ९५ लाख बजेट विनियोजन गरिएको छ ।
गाउँसभाको १७औं अधिवेशनको अर्को बैठक असार १६ गते बोलाइएको छ । उक्त बैठकमा बजेटमाथि छलफल हुने प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले बताए । त्यसअघि गाउँपालिका अध्यक्ष पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको छ ।
सभामा विभिन्न विषयगत समिति संयोजकहरुले प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । यस्तै गाउँसभाबाट विभिन्न ऐन र कार्यविधि पनि पारित भएका छन् ।