सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । जारी वर्षाका कारण बाढी र पहिरोले देशका विभिन्न ६ प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । जसले यातायात आवागमनमा ठूलो प्रभाव पारेको छ। नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेले यो जानकारी दिएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार, ललितपुरको कान्ति लोकपथ बिहानैदेखि अवरुद्ध भएको छ। बागमती गाउँपालिका–३, छपेलीमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको हो। त्यसैगरी, सिन्धुपाल्चोकको अरनिको राजमार्ग पनि भोटेकोशी गाउँपालिकाका तीन स्थानमा (कोदारी, लार्चा र कोप्लाङ) पहिरो खसेका कारण अवरुद्ध बनेको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ मा रहेको विनयी खोलाको बाढीले डाइभर्सन नै बगाउँदा सडक अवरुद्ध भएको छ। यस्तै, गुल्मीको कालीगण्डकी गाउँपालिका–६, बर्लबामा खसेको पहिरोले कालीगण्डकी करिडोर पूर्ण रूपमा बन्द भएको छ।
केही सडक खण्डहरू भने आंशिक रूपमा सञ्चालनमा आएका छन्। जुम्लाको सिंजामा पहिरो खसेर बन्द भएको जुम्ला–मुगु सडक अहिले एकतर्फी रूपमा खुलेको छ। धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा रहेको रवि–राके–भेडेटार सडक पनि एकतर्फी सञ्चालनमा आएको छ।
प्रहरी प्रधान कार्यालयले अवरुद्ध सडकहरू खुलाउने प्रयास जारी रहेको जानकारी दिएको छ।