सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) नतिजा सम्बन्धि समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा आर्थिक बर्ष २०८०-८१ को नतिजा समिक्षा कार्यक्रम सम्पन्न भएको हो । नगर प्रमुख विष्टले लिजामा क्रमशः सुधार हुँदै गइरहेको भन्दै आगामी दिनहरुमा अझ सुधार ल्याउन विद्यमान कमजोरीहरुमा ध्यान दिइने बताए । उनले आवश्यक ऐन, नियम र कार्यविधि बनाएर सुधारको बाटोमा अघि बढ्ने समेत बताए ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा र लिजा फोकल पर्सन प्रबिण कुमार रानाले लिजा स्वमूल्यांकन प्रक्रिया, १०० वटा सूचक र विद्यमान कमजोरी तथा सुधारका उपाय र नतिजाबारे प्रस्तुतिकरण गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत शर्माले सबैको साझा प्रयासबाट लिजामा उत्कृष्टता हासिल गर्न सकिने बताए । फोकल पर्सन रानाले यस अघिका बर्षहरुमा हासिल भएको लिजा नतिजाबारे जानकारी गराएका थिए । आर्थिक बर्ष २०८०-८१ मा बाँकेका चौथो स्थानमा रहेको नेपालगञ्ज उपमहानगरपालिकाले ८३.२५ प्रतिशत अंक हासिल गरेको रानाले बताए । उनले चालू आर्थिक बर्षमा ९० देखि ९२ प्रतिशतसम्म अंक हासिल हुने प्रक्षेपण सुनाए ।
स्वमूल्यांकन निर्वाचित जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण गर्ने, एक जना अधिकृत कर्मचारीलाई सम्पर्क ब्यक्ति तोक्ने, प्रारम्भिक नतिजा छलफलका लागि कार्यपालिकाको बैठकमा पेश गर्ने, कार्यपालिकाले सम्बन्धित विषय क्षेत्रको यथार्थ अंकभार निर्धारण गर्ने, स्वमूल्यांकनको अन्तिम नतिजा कार्यपालिकाबाट अनुमोदन गर्ने, मूल्यांकनको अन्तिम नतिजा कार्यपालिकाबाट अनुमोदन गर्ने मूल्यांकनको नतिजा वेबसाइट र सूचना पाटीमार्फत सार्वजनिक गर्ने र जिसस, प्रदेश र मन्त्रालयमा पठाउने, स्वमूल्यांकनको अन्तिम नतिजा छलफलको लागि सभामा पेश गर्ने प्रक्रिया पूरा गर्नुपर्दछ ।
स्वमूल्यांकनको कार्य प्रत्येक आर्थिक बर्षको पौष मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने हुन्छ । स्थानीय तहले स्वमूल्यांकनको नतिजा माघको पहिलो हप्ताभित्र आआफ्नो सूचना पाटीमा प्रकाशित गरी सम्बन्धित जिल्ला समन्वय समिति, प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र मन्त्रालयमा पठाउनुपर्ने प्रावधान छ ।