सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । बाँकेमा यस बर्ष विपदबाट २५ हजार घरपरिवारका डेढ लाख मानिस प्रभावित हुने प्रक्षेपण गरिएको छ । यही पूर्वानुमानका आधारमा तयार भएको विपद पूर्व तयारी तथा प्रतिकार्य योजना २०८२ (उन्नाइसौं अद्यावधिक) लाई सुझाव र परिमार्जनसहित अनुमोदन गर्ने निर्णय गरिएको छ ।
जिल्ला विपद व्यवस्थापन समितिको बैठकले यसै योजनाका आधारमा विपद पूर्व तयारी र प्रतिकार्यका गतिविधि सञ्चालन गर्न निर्देशन दिने निर्णय समेत गरेको छ । यस वर्षको मनसुन सुरु हुने अवस्थामा रहेकोले मनसुनजन्य विपदबाट प्रभावित हुन सक्ने १५ हजार परिवारको पूर्वानुमानका आधारमा तयार पारिएको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना २०८२ लाई समेत अनुमोदन गरिएको छ।
स्थानीय तहहरुले पनि मनसुन पूर्व नै मनसुन पूर्व तयारी तथा प्रतिकार्यको तयारीका लागि सरोकारवालाको सहभागितामा बैठक बसी योजना निर्माण गर्ने निर्णय पनि गरिएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । यस्तै सबै स्थानीय तहहरुले अविलम्व आ(आफ्नो विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्ने निर्णय भएको छ ।
मनसुनजन्य विपदका घटनाहरुलाई प्रभावकारी प्रतिकार्यका लागि योजनाहरुको परीक्षण तथा स्रोत साधन र जनशक्ति परीक्षण तथा समन्वय सहकार्यलाई प्रभावकारी बनाउन बाढीजन्य विपदसँग सम्बन्धित कृत्रिम घटना अभ्यास नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, रेडक्रस, मानवीय सेवामा कार्यरत संघसंस्था, समुदायको सहभागिता तथा सबै पालिकाको समन्वयमा जेष्ठ ३० गते शुक्रबार विहान ७।३० बजे राप्ती नदीस्थित सिधनिया घाटमा गरिने भएको छ ।
बैठकमा गर्मीयामसंगै बाँकेमा आगलागी तथा 'लू' प्रतिकार्यका बारेमा छलफल पनि भएको छ । गर्मीयाममा हुन सक्ने आगलागी, डढेलो तथा 'लू' को प्रभावबाट जोगिन सवै सरोकारवालाहरुलाई थप प्रभावकारी बनाउन निर्देशन दिने, आगलागी, डढेलो, हावाहुरी, 'लूु' बाट जोगिन कार्ययोजना अनुरुपका गतिविधिलाई निरन्तरता दिने, अन्तरपालिका समन्वयमा दमकल सेवालाई थप प्रभावकारी बनाउन अनुरोध गर्ने लगायतका निर्णय गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष धर्मराज जोशीको अध्यक्षतामा स्थानीय सरकारका प्रमुख एवम् प्रतिनिधिसहित सम्बन्धित सरोकारवालाको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।