कोहलपुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु
नेपालगञ्ज । सडक दुर्घटनामा परी बाँकेमा दुई जनाको मृत्यु भएको छ । गएराती कोहलपुरमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार नेपाल टेलिकम कोहलपुरमा कार्यरत ५७ बर्षीय चिरञ्जीवि अधिकारी र फर्मासिष्ट ३६ वर्षीय सरोज मरासिनीको मृत्यु भएको हो । भे ११ प ९७५१ नम्बरको स्कुटीमा सवार अधिकारीलाई भे १३ प ३२७७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो ।
स्कुटीमा पछाडि सवार अधिकारीकी श्रीमती गितादेवी घाइते छिन् । उनको उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।
यस्तै कोहलपुर नगरपालिका वडा नम्बर ६ रझेना निवासी मरासिनीको गएराती ११ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
राती साढे १० बजे दुर्घटनामा परेर मरासिनी गम्भीर घाइते भएका थिए । त्यसपछि उनलाई उपचारका लागि मेडिकल कलेज लगिएको थियो। चिकित्सकले राती ११ बजे मृत घोषणा गरेका थिए ।
नेपालगञ्जबाट कोहलपुर घर फर्कने क्रममा कोहलपुर नगरपालिका वडा नम्बर १४ हवल्दारपुरमा आफैँले चलाएको भे ९ प ८१५७ नम्वरको मोटरसाइकल अनियन्त्रित हुँदा मरासिनी दुर्घटनामा परेका थिए । दुर्घटनास्थलमा सडक मर्मतका लागि खाडलहरु खनिएको छ । उनी त्यसैमा परेका थिए ।
राजिव गान्धी युनिभर्सिटी भारतबाट बी(फार्मेसी गरेका फर्मासिष्ट मरासिनी औषधि उत्पादन गर्दै आएको रिलायन्स कम्पनीमा बजार प्रतिनिधिका रुपमा काम गर्दै आएका थिए ।