बर्दियामा नरभक्षी चितुवा नियन्त्रणमा

बुधबार, जेठ २१, २०८२

बर्दिया । बर्दियाबाट डिभिजन बन कार्यालय र बर्दिया राष्ट्रिय निकुञ्जले नरभक्षी चितुवा नियन्त्रणमा लिएको छ। लगातार केही महिनाको अन्तरमा बर्दियामा तीन जनाको चितुवाको आक्रमणबाट मृत्यु भइसकेको छ। जेठ १४ गते मात्रै गुलरिया नगरपालिका–५ वालापुरकी ५ वर्षीया बालिका सायरा थारुको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो।

पौने दुई महिनाको प्रयासपछि झन्डै ६ बर्ष उमेरको भाले चितुवा बालापुरबाट नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बर्दियाले जानकारी दिएको छ।

थारु सामुदायिक वन, गुलरिया नगरपालिका –५ बालापुर वन क्षेत्रमा चितुवा नियन्त्रणमा लिन बाख्रा राखिएको थियो। बाख्रा खान गएको चितुवा बिहान बुधबार बिहान साढे चार बजेतिर पिँजडामा परेको थियो।

वरिष्ठ वन कार्यालयका अनुसार यही चितुवाले केही महिनाको अवधिमा तीन जनाको ज्यान लिएको आशंका गरिएको छ। ‘यही हो भन्ने यकीन गर्न त बाँकी नै छ,’ तर, लामो समयको प्रयासपछि हामी 'समस्याग्रस्त' चितुवा नियन्त्रणमा लिन  सफल भएको वन कार्यालयले जनाएको छ।

पटक र पटक सर्वसाधारण  माथि चितुवाको आक्रमण बढेपछि स्थानीय त्रसित थिए। चितुवाले प्राय साना बालबालिकालाई आक्रमण गर्ने गरेको पाइएको छ।
वैशाख १५ गतेपनि गुलरिया–८ की ९ वर्षीया मेलिना खड्काको चितुवाको आक्रमणमा मृत्यु भएको थियो।

जेठ १४ गते चितुवाले अर्को बालिकाको ज्यान लिएपछि स्थानीयले चितुवा नियन्त्रणमा लिनु पर्ने माग गर्दै सडक खण्ड नै अबरुद्ध पारेका थिए। 

बर्दियामा चितुवाको आक्रमणमा परी ७ महिनाको अवधिका चार जनाको मृत्यु भएको तथा  १६ जना घाइते भएको डिभिजन वन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  ०९:१८
प्रतिक्रिया दिनुहोस्